अब ललितपुर महानगरपालिकामा पनि ब्रुमरबाट सफाइ

ललितपुर– ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा दुई ब्रुमर र दुई पानी ट्यांकरको उद्घाटन गरे । उनले भने, ‘ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ ।

यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक जावलाखेलदेखि नख्खु पुल र पुल्चोकदेखि लगनखेलसम्म आवश्यकताअनुसार सञ्चालन गरिनेछन् ।’ महानगरप्रमुख महर्जनले चार करोड ४८ लाख ११ हजार २ सय ८० तिरेर ललितपुरमा दुई ब्रुमर भित्र्याएको जानकारी दिए । जेनटेक प्राइभेट लिमिटेड कम्पनीका प्रबन्ध निर्देशक राजन श्रेष्ठले सो ब्रुमर डिजेलबाट चल्ने बताए । श्रेष्ठले भने, ‘सो बु्रमरसँग ६२० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ ।’

सो कम्पनीले ललितपुरमा दैनिक ब्रुमर सञ्चालन गराउन महानगरका पाँच प्राविधिकलाई निःशुल्क तालीम दिइसकेको बताएको छ । यो ब्रुमरले परीक्षणकालका लागि एक हप्ता ललितपुरको मुख्य सडक मात्र सफा गर्नेछ । खुमलटारमा कार्यालय रहेको सो कम्पनीसँग दुई वर्ष ब्रुमरको पूरै रेखदेख र मर्मतसम्भार गर्ने जिम्मेवारी रहेको श्रेष्ठले जानकारी दिए ।

फोहरमैला व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकृत सुरेन्द्रराज अवालेले इटालीमा निर्माण भएको सो ब्रुमरले प्लास्टिक, घाँस र धुलो सबै एकैसाथ संकलन गर्ने बताए । यसबाट संकलित फोहरमध्ये पुनः प्रयोग गर्न मिल्नेलाई छुट्टै भण्डारण गरी प्रयोगमा ल्याइने, घाँसलाई कुहाएर कम्पोस्ट मल बनाइने र माटोलाई खाल्डाखुल्डी पुर्न प्रयोग गरिने अवालेले बताए । 

अबको एक हप्ता सडकको गुणस्तर अध्ययन गरी त्यसैअनुरुप सो ब्रुमर सञ्चालन गरिने अवालेले  जानकारी दिए । ब्रुमरका कारण सडक सफा गर्न राखिएका कुनै पनि कर्मचारीको जागिर जोखिममा नपर्ने अवालेले जिकिर गरे । हाल ललितपुर महानगरसँग सानो एउटासमेत गरी तीन ब्रुमर छन् । महानगर स्रोत भन्छ, ‘सो ब्रुमरले चक्रपथ एरिया सफाइ गर्ने कुरा अघि बढाएको छैन ।’ 

महानगरपालिका मेकानिकल इन्जिनियर पुष्कर भट्टराईले महानगरले यसअघि डुलेको कम्पनीको एउटा सानो ब्रुमर सडक सफा गर्न प्रयोग गर्ने गरेको बताए । हाल उक्त सानो ब्रुमरको ब्रस खिइएकाले त्यसलाई केवल पाटन दरबार क्षेत्रको सफाइमा प्रयोग गरिएको भट्टराईले बताए । उनले भने, ‘सो सानो ब्रुमर महानगरलाई सडक विभागले केही समयअघि सडक सफा गर्न सहयोग गरेको थियो ।’ 



यसैबीच सडकमा रोपिएका बिरुवा हरभर बनाउन रु ९० हजार खर्च गरी महानगरले सिप्रदी ट्रेडिङ प्रालिको दुई पानी ट्यांकर भित्र्याएको छ । भारतमा निर्मित एलपिटी १०१० मोडलको सो पानी ट्यांकरको क्षमता ६ हजार लिटर पानी भण्डारण गर्न सक्ने रहेको छ । यसअघि ललितपुर महानगरसँग पानी बोक्ने आफ्नै ट्यांकर थिएन । 



  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार १५:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया