Wed, 21 Aug, 2019


कान्छी रोक्काः जो १२ वर्षदेखि वसन्तपुर सफा गर्दै छिन्
फरकधार / साउन २६, २०७६

वसन्तपुर स्क्वायर । २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भवनहरु बनिरहेका छन् । निर्माणाधीन क्षेत्र पूरै छोपिएको छ । त्यसैले वसन्तपुर स्क्वायर खुम्चिएको जस्तो लाग्छ । 



तर, साँघुरिएको वसन्तपुर क्षेत्रमा पनि मान्छेको आवतजावत कम छैन, भीड छ । सेल्फी लिनेदेखि टन्टलापुर घाममै किन नहोस्, बसेर भलाकुसारी गर्नेहरु कम छैनन् ।

जे होस्, सबजना आआफ्ना सुरमा मस्त छन् । 

त्यही भीडमा केही पर एक महिला छिन्, जो हातमा कुचो लिएर काम गरिरहेकी छिन् । उनको अनुहार भर पसिना छ, घामको राप छेल्नका लागि सल टाउकोमा राखेकी छिन् । अनि अनवरत चलाइरहेकी छिन्, कुचो । 

फोहोरहरु एक ठाउँमा जम्मा गर्दै ती महिला बेलाबेला आफ्नो हात निधारमा पुर्याइरहेकी छिन् र सलले पुछिरहेकी छिन् पसिना । 

केहीबेर काम गरिसकेपछि ती महिला टुस्स बसिन्, त्यहाँको एक पर्खालमा । यही मौका पारेर हामी उनको नजिक पुग्यौँ । 

सोध्यौँ, ‘यस्तो चर्को घाम छ, थाक्नु भयो है ?’

उनी पहिले मुसुक्क हाँसिन् । अनि भनिन्, ‘मेरो कामै यही हो, किन थाक्नु ?’

उनीसँग बोल्ने मेसोको सुरुवात भइसकेको थियो । तर, उनी खासै बोल्न चाहिरहेकी थिइनन् ।

किन ? 

‘अब बोलेर आफ्नो काम घट्ने होइन,’ उनले भनिन्, ‘मेरा दुःख मेरै हुन्, बोलेर ती सकिने होइनन् ।’

यतिबेला मध्य दिनको २ बजेको छ । ती महिला केही बेर अरु साथीहरुसँग गइन् र फर्किएर आइन् । 

अनि बल्ल सुरु भयो, हाम्रो कुराकानी । 

 

० 

कान्छी रोक्का । उनको नाम हो, कान्छी रोक्का । 

धादिङको छत्रेदेउरालीमा जन्मिएकी कान्छी रोक्काको जीवनमा दुःखसुख एउटा ‘ढिकीच्याउँ’ खेलजस्तै रह्यो । र, त्यसको सुरुवात भयो, उनी नौ वर्षको हुँदा 

२०२१ सालमा जन्मिएकी कान्छीको विवाह भयो, ३० सालमा । त्यसपछि धादिङबाट काठमाडौंको नैकापमा आइपुगिन्, कान्छी । 

‘मलाई त माइतीमा बिताएको बाल्यकालको सम्झना नै छैन,’ उनले भनिन्, ‘न स्कुल गएँ, न पाँच दाजुभाइ र तीन दिदीबहिनीसँग खेलेका सम्झना नै छन् ।’

विवाह गरेर नैकाप आएपछि चाहिँ उनी सामान्य घरका काममा भुल्न थालिन् । 

तर, उनका पतिले कान्छीलाई धोका दिए, अर्को विवाह गरे । 

‘दुई वर्षमात्र भएको थियो, हाम्रो विवाह भएको,’ कान्छीले भनिन्, ‘श्रीमान्ले अर्की श्रीमती ल्याउनु भयो । सासूससुराले नै श्रीमान्लाई अर्को श्रीमती ल्याउन कर गर्नुभयो ।’

त्यति बेला त कान्छीलाई केही फरक परेन । ‘उमेर बढ्दै गयो,’ कान्छी हाँसिन्, ‘अनि चित्त पनि दुख्न थाल्यो ।’

विस्तारै कान्छीलाई सासूससुराले हेप्न थाले । ‘मेरी सौता र सासूससुराको व्यवहारका कारण मैले छुट्टिने र अलग्गै बस्ने निर्णय गरेँ ।’

यति भनिसकेर कान्छीले दाहिने हातमा भएको कुचो देब्रे हातमा सारिन् । आफ्नो सल उठाइन् र निधारमा पुछिन् । 

जतिबेला कान्छीले घरबाट छुट्टिएर एक्लै बस्ने निर्णय गरेकी थिइन्, त्यति बेला उनका तीन सन्तान भइसकेका थिए । जेठी छोरी ९ वर्ष र कान्छो छोरा एक वर्षका मात्र थिए ।

‘२०५१ सालको कुरा हो,’ उनले भनिन्, ‘छोराछोरी लिएर र आफ्नो अंश लिएर म छुट्टिएँ ।’  

तीन छोराछोरीलाई काठमाडौंमा हुर्काउन कान्छीलाई निकै सकस भयो । उनले के गर्ने÷नगर्ने निर्णय नै गर्न सकिनन् । छुट्टिएको केही समयपछि फेरि उनको मनमा एकपटक सहयोग माग्न पूर्वपतिसम्म जाऔँ कि भन्ने भाव पनि आयो । 

‘तर, म गइनँ,’ उनले लामो सास तानिन्, ‘दुःखहरु थपिँदै गएका थिए । मैले छोडेको श्रीमान्को होइन, अरुसँग सहयोग मागेँ– काम खोजिदिन ।’

 

० 

परिवारसँग छुट्टिएको ४ वर्ष भइसकेको थियो । एकदिन उनलाई एकजना साथीले भनिन्, ‘एउटा काम छ, गर्छौ ?’

यतिबेलासम्म कान्छी ‘जे काम’ पाए पनि गर्न पर्ने बाध्यतामा पुगिसकेकी थिइन् । उनले साथीको प्रस्ताव स्वीकार गरिन् । 

उनले काम पाइन्, काठमाडौं महानगरपालिकाको ३५ नम्बर वडा कार्यालय र वरपरको सडक सरसफाइ गर्ने । 

उनका छोराछोरी तीनैजना स्कुल जाने भइसकेका थिए । ‘म विहान उठ्थेँ, खाना पकाएर छोराछोरीलाई स्कुल पठाएर कामका लागि निस्कन्थेँ,’ आजभन्दा २० वर्षअगाडिका ती दिन सम्झिइन्, कान्छीले, ‘साँझ अफिसबाट हतारहतार घर फर्किन्थेँ, छोराछोरीलाई खाजा खुवाउन घरमै पुग्थेँ ।’

आर्थिक स्रोतको अभाव झेलिरहेकी कान्छीलाई त्यति बेला महानगरले दिने पैसा ठूलो सहयोगी बन्यो । ‘त्यही पैसाले मैले छोराछोरीलाई पढाउन सकेँ,’ उनले भनिन्, ‘काम गरिरहेँ, २०६३ सालमा म स्थायी पनि भएँ ।’

त्यसपछि उनको सरुवा पनि भयो । उनलाई वसन्तपुर क्षेत्रमा खटाइयो । 

१२ वर्ष भयो, कान्छीले वसन्तपुरलाई सफा राख्न कुचो चलाउन थालेको । 

यी १२ वर्षमा वसन्तपुरलाई नजिकबाट हेरेकी छिन्, कान्छीले । ‘मेरा साथीहरु त कति फोहोर गरेको सम्म भन्छन्,’ उनले भनिन्, ‘तर, यहाँ फोहोर नै नगरिदिए, हामीले के सफा गर्ने ? मलाई चाहिँ कसैले फोहोर गरेको कुरामा गुनासो हुँदैन ।’

कान्छीले योबीचमा महसुस गरेकी छिन्, वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकले होइन, नेपालीले नै बढी फोहोर गर्छन् । 

‘विदेशीले त ससाना टुक्रा पनि उठाएर आफ्नो झोलामा हालेर लैजान्छन्,’ उनले भनिन्, ‘नेपालीहरु चाहिँ जे पनि यत्तिकै फालिदिन्छन् ।’

तर, यही कुरालाई गुनासो गरेर बस्न मन छैन, कान्छीलाई । 

‘गुनासो गरेर के हुन्छ र ?’ उनले भनिन्, ‘आफ्नो काम आफैं गर्नुपर्छ, अरुले गर्दैन ।’

हुन पनि कान्छीले गुनासो गरेर जीवनमा गुनासाहरु जम्मा गरेको भए अहिले उनी यति सन्तुष्ट हुने थिइनन् । 

‘मैले त जीवनमा धेरै दुःख पाएँ, संघर्ष पनि गरेँ,’ उनले भनिन्, ‘तर, आफूले गरेको कुरामा कहिल्यै गुनासो गरिनँ ।’ उनलाई लाग्छ, मानिस सबैले आआफ्नो भागको जीवन बाँच्ने हो, त्यसैले गुनासो गर्नुको कुनै तुक छैन । 

‘अब अहिले म नै निकै सुखसयलमा छु,’ वसन्तपुर बढार्न जान फेरि कुचो उठाउँदै कान्छीले भनिन्, ‘अहिले विहान उठ्दा मेरो ओच्छ्यानमै चिया आउँछ, खाना समयमै पाक्छ । मैले काम गर्ने त यहाँ मात्र हो, घरमा केही गर्नु पर्दैन ।’ उनको घरका कामको काँध थापिदिएकी छिन्, उनकी बुहारीले ।

बरु कान्छी त घरमा नातिनातिनासँग खेलेर समय बिताउँछिन् । 

‘सन्तोष भनेको नै यही रहेछ, खुसी भनेको नै यही रहेछ,’ जीवनबारे गहिरो दर्शन बुझेकी छिन्, कान्छीले, ‘संघर्ष गर्नु पर्ने रहेछ, दुःख आफैँ हार्दो रहेछ ।’ 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्