काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले साउन ३१ र ३२ गते पोखरा, भदौ २ र ३ गते रुपन्देही र भदौ ५ र ६ गते सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।
प्रशिक्षणमा कांग्रेसका सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिस्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासँग सम्पर्क र संवादजस्ता कुरालाई समावेश गरिएको सचिव आचार्यले बताए ।
प्रतिष्ठानका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसका सदस्यलाई जनतासँग आत्मीय सम्पर्क होस् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले यस्तो प्रशिक्षणले नेपाली कांग्रेसलाई एकजुट बनाएर अघि लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रशिक्षण पार्टी सभापति, वरिष्ठ नेता पदाधिकारी तथा केन्द्रीय नेताको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।