११ वर्षमा दोहोरीमा भाइरल कमलाको कथा

काठमाडौं— सामाजिक सन्जालले कहिले कसलाई चर्चित बनाइदिन्छ भन्ने ठेगान नै हुँदैन । हुन्थ्यो भने अहिले समाजमा नयाँ अनुहार जुन रफ्तार अगाडि आइरहेका छन्, त्यो पक्कै हुँदैनथ्यो । 

अहिले हाम्रो अगाडि आइरहेको त्यस्तै अनुहार हो, कमला घिमिरेको । ११ वर्षकी मात्र भइन् कमला । तर, उनको प्रस्तुतिका कारण उनको निकै ठूलो चर्चा चलिरहेको छ । दोहोरी गीत गाउने कमला सुरिलो स्वर र तत्काल दोहोरी फर्काउने भएकाले चर्चामा छिन् ।

तर, उनी यसरी भाइरल हुनुको पछाडि एउटा सानो घटनालाई सम्झनु पर्छ । 

फेरि उनलाई हामीले भाइरल भएका रुपमा चिन्दा चिन्दै पनि के बिर्सनु हुँदैन भने पछिल्लो समय भारतमा पनि रानु मन्डल यसरी नै सामाजिक सन्जालमार्फत् आएकी हुन् र अहिल उनी चर्चाको केन्द्रमा छिन् ।

कमलाको कथा सुरु गरौँ ।

यो भदौ ७ गतेको कुरा हो । नीलकन्ठ नगरपालिकाको रिजाल डाँडामा तीज विशेष कार्यक्रम थियो । यो कार्यक्रमलाई आयोजना गरेको थियो, प्रगतिशिल महिला समूहले । अनि यसमा निर्णायकको भूमिकामा थिए, रेडियोकर्मी तथा गायक अमृत सापकोटा ।



त्यो कार्यक्रम भव्य थियो ।

कार्यक्रम सकिएको मात्र के थियो, कमलाकी ठूलीआमाले अमृतलाई भनिन्– नानीले तपाईंसँग गीत गाउने रहर गरेकी छे । अमृत जिस्किए । उनलाई सानी नानीले के गीत गाउली र भन्ने लाग्यो । अनि उनी तयार भए ।



कमलाले नै भाका झिकिन् । उनको भाकामा उनले एउटा शब्द राखिन्, कान्छा । 

यही एउटा शब्दले मोहित बनायो सापकोटालाई । उनले यसबारे भनेका छन्, ‘ती सानी नानीले कान्छा नभनेको भए र मैले गीत सुरु गरेको भए सायद, नानी, छोरी भनेर नै सम्बोधन गर्थेँ ।’

तर, सुरुवात गरिन् कमलाले । त्यसपछि उनले अमृतसँग जुन दोहोरी गाएकी छिन्, त्यसमा माया छ, प्रेम छ, दुःखसुख छ, समाज छ र अहिलेको परिस्थिति पनि छ ।

सापकोटाले यो गीत भोलिपल्ट आफ्नो युट्युब च्यानलमा सेयर गरे । त्यसपछि बल्ल कमला भाइरल भइन् ।  

यो क्रम कहाँसम्म पुग्यो भने उनले राजु परियारसँग पनि दोहोरी गाइन् । 

अहिले ११ वर्षकी भएकी कमलाले ९ वर्षदेखि नै गीत गाउन थालेको, दोहोरीमा जवाफ फर्काउन थालेको उनका बाबु कल्याण र आमा देवकी बताउँछन् । उनी गाउँमा भएका सानातिना कार्यक्रममा पनि दोहोरी भन्दै अगाडि बढ्थिन् ।

अब त कमला भाइरल भइसकेकी छिन् । उनी गायनमा नै आफ्नो करिअर बनाउन चाहन्छिन् । 

  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार २१:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया