मूल्य निर्धारण नहुँदा गाउँमै थन्कियाे यार्सा

दार्चुला– अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महिनामा संकलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । संकलन गरिएको तीन महिना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । मूल्य निर्धारण नभएर बिक्री हुन नसक्दा यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले स‌ंकलन गरेको यार्सागुम्बा त्यतिकै थन्किएको छ ।

तीन महिनाको कडा परिश्रमबाट स‌ंकलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुन सकेको छैन्, स्थानीयवासी उमेश बोहराले भने, ‘यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा स‌ंकलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् ।’

यार्सागुम्बाको बजार मूल्य नतोकिनु र मूल्य गिरावट आउँदा स‌ंकलकहरु निरास भएका छन् । विगतमा यार्सागुम्बाको सिजनपछि स्थानीयवासीको खण्डेश्वरी बजारमा चहलपहल बढ्थ्यो । तर यो पटक भने खण्डेश्वरी बजार सुनसानजस्तै छ । 

यार्सागुम्बा बिक्री नहुँदा बजारमा चहलपहल बढेको छैन । यार्सागुम्बा स‌ंकलनअघि जति उत्साहका साथ स‌ंकलक लेक गएका थिए, तर बिक्री नहुँदा उनीहरुमा अहिले त्यतिकै निराशा छाएको छ । बिक्री नहुँदा अधिकांश स्थानीयवासीले यार्सागुम्बा स‌ंकलनको लागि लिएको ऋण तिर्न सकेका छैनन् । विगतमा यार्सागुम्बा स‌ंकलनको लागि व्यापारीले ऋण लगानी गर्थे । अहिले तिनै व्यापारी यार्सागुम्बाको बजार भाउ नभएको भन्दै समस्यामा परेको बताउँछन् ।  

केही व्यापारीले स्थानीय स‌ंकलनको लागि लिएको ऋण तिर्न सकेकाबाट यार्सागुम्बा स‌ंकलन गरे पनि दर रेट तोकेका छैनन् । स‌ंकलकहरुले विगतको जस्तो यार्सागुम्बाको मूल्य नपाउँदा बिक्री समेत गर्न मानेका छैनन् । गाउँदेखि सहर बजारसम्मै यार्सागुम्बा बिक्री नहुँदा विगतको जस्तो व्यापार व्यवसायसमेत चलेको छैन । बजार पूरै आर्थिक मन्दीमा गइरहेको बोहराले बताए । 

लामो समयसम्म यार्सा स‌ंकलकहरुको घरमा यार्सागुम्बा थन्किएपछि यार्सागुम्बा सड्ने अवस्थामा पुगेको ब्यास गाउँपालिकाका स‌ंकलक धीरेन्द्रसिंह धामीले बताए । सबैलाई यार्सागुम्बा सुरक्षित राख्ने तरिका जानकारी नहुँदा सड्ने अवस्थामा पुगेको हो ।



व्यासकै स्थानीयवासी दानसिंह कार्की व्यापारीले मूल्य निर्धारण नगरेरै यार्सागुम्बा बिक्री गरेको बताए । घरमै यार्सागुम्बा सडाउनुभन्दा व्यापारीलाई यार्सागुम्बा दिएका छौं, उनले भने, ‘व्यापारीले बिक्रीका लागि काठमाडाैं लगेका छन् । मूल्य छैन भन्छन् । अहिलेसम्म यार्सागुम्बाको कति मूल्य निर्धारण हुने हो भन्नेबारे जानकारी आएको छैन् ।’

गत वर्षसम्म प्रतिकेजी १७ लाखदेखि २० लाखसम्म खरिद–बिक्री भएको यार्सागुम्बा यसपटक भने बिक्री हुन पाएको छैन । केही व्यापारीको गत वर्षकै यार्सागुम्बा बिक्री हुन बाँकी रहेको छ ।  व्यापारी गणेश बडु यार्सागुम्बाको मूल्य नभएको कारण अधिकांश व्यापारीले यो वर्ष यार्सागुम्बामा लगानी गरेका छैनन् । ‘स‌ंकलकबाट उठाउन पनि सकिएको छैन’, उनले भने, ‘मूल्य नै थाहा नपाइएको अवस्थामा यार्सागुम्बा खरिद गरेर काम छैन् । यार्सागुम्बा खरिद–बिक्री नभएका कारण बजारमा समेत चहलपहल बढेको छैन ।



दार्चुला बजारमा समेत कारोबार घटेको छ । पसल सुनसान छन्, दशैँनजिकै पुग्ने वेला पनि बजारमा व्यापारी देखा परेका छैनन्, उनले भने । यो यार्सागुम्बाको कारोबार हुने समय हो । व्यापारी र सर्वसाधारणको बजारमा चहलपहल हुने वेला सुनसान छ । ‘यार्सागुम्बाको चीनमा समेत मूल्य नभएको कारण बिक्री हुन नसकेको यार्सा व्यापारी धनसिंह जागरीले बताए । अहिले व्यापारी काठमाडौं समेत आएका छैनन् ।

‘मोटो यार्सागुम्बाको सात–आठ लाख प्रतिकिलो भन्छन्’, उनले भने, ‘सामान्य यार्सागुम्बा पनि प्रतिकिलो तीन–चार लाखमा बिक्री हुने अवस्था छैन ।’ उनले यार्सागुम्बाको मूल्यमा आएको ह्रासका कारण गाउँमै यार्सागुम्बा थन्किएको बताए ।

केही यार्सागुम्बा स्थानीय स‌ंकलकबाट उठाएका छौँ । उनले भने, ‘तर मूल्य तोकिएको छैन् । अहिलेको अवस्थामा यार्सागुम्बा बिक्री गर्न सकिने अवस्था छैन,’ यो वर्षसम्म जिल्लाबाट यार्सागुम्बा छोडपुर्जी जारी भइसक्नुपर्नेमा हालसम्म ४० किलोग्राम यार्सागुम्बाको मात्र छोडपुर्जी जारी गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरले जानकारी दिए । 

यो वर्ष यार्सागुम्बाको मूल्य नहुँदा व्यापारीलेसमेत यार्सागुम्बा लिन मानेका छैनन् । विगतमा हरेक वर्ष अपि नाम्पा संरक्षण क्षेत्रबाट छुट पूर्जी जारी भएर छ देखि आठ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको थियो । दार्चुलाको अपि हिमाल, मार्मा, नौगाड र ब्यास गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा खोज्ने गर्छन् । यार्सागुम्बा स‌ंकलनको लागि हरेक वर्ष जिल्लाका पाटनमा पाँचदेखि १० हजार स‌ंकलक जाने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाको अपि हिमालको लोलु, रोखापु, सात गंगा चाइमटेला, धरमघर, काटै, क्षत्ति, ब्यासको अपिफेद, दूधीवनलगायतका दर्जन बढी ठाउँमा यार्सागुम्बा पाइने गर्छ । यार्सागुम्बा स‌ंकलनको लागि यहाँका विद्यालयसमेत एक महिनाका लागि बन्द हुने गर्छ ।

जडीबुटीको राजश्व घटाइयो

अपि नाम्पा संरक्षण व्यवस्थापन परिषद्ले जिल्लामा स‌ंकलन हुने जडीबुटीको राजश्व शुल्क घटाएको छ । उद्योग वाणिज्य संघ दार्चुला र जडीबुटी व्यवसायी संघले हालसम्म जडीबुटीमा लिएको राजश्व बढी भएको भन्दै घटाउन आग्रह गरेपछि शुल्क घटाइएको हो ।

व्यवस्थापन परिषद्ले यार्सागुम्बा, सतुवा, वनलसुन र साधारण च्याउको राजश्व रकम घटाएको अपि नाम्पा संरक्षण व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिंह ह्याकीले जानकारी दिए ।  व्यवस्थापन परिषद्ले यार्सागुम्बाको प्रतिकिलोग्राम दुई हजार रुपैयाँ, सतुवा प्रतिकिलो ४० रुपैयाँ, वनलसुन प्रतिकिलो ३० रुपैयाँ र साधारण च्याउ प्रतिकिलो १० रुपैयाँ लिने भएको छ । 

यसअघि परिषद्ले जडीबुटी व्यवसायीबाट यार्सागुम्बामा प्रतिकिलो ग्राम दुई हजार पाँच सय, सतुवा प्रतिकिलो १०० वनलसुन प्रतिकिलो ३०० र साधारण च्याउ प्रतिकिलो काे ५० रुपैयाँ राजस्श्व लिँदै आएको थियो ।

जिल्लाका जडिबुडी व्यवसायीहरुले जडीबुडीमा महँगो राजस्व तिर्नुपरेको भन्दै घटाउन आग्रह गरेका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष मंललसिह ठगुन्नाको नेतृत्वमा गएको टोलीले संरक्षण व्यवस्थापन परिषदलाई ज्ञापन बुझाउँदै जडीबुडीको राजस्व घटाउन आग्रह गरेका थिए ।

  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १६:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया