'जलवायु संकट रोक्न कदम नचाल्ने' ५ ठूला देशविरुद्ध १६ बालबालिकाले दिए उजुरी

न्युयोर्क– स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थन्बर्गसहित १६ बालबालिकाले ‘जलवायु संकटविरुद्ध उपयुक्त कदम नचालेर उनीहरुको मानवअधिकार हनन गर्ने’ विश्वका ठूला पाँच अर्थतन्त्रविरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी दिएका छन् । उजुरी दर्ता गर्नुअघि सोमबार नै थन्बर्गले संयुक्त राष्ट्रसंघको ‘क्लाइमेट एक्सन समिट’मा विश्वका नेताहरुलाई सम्बोधन गर्दै निकै भावुक र आलोचनात्मक वक्तव्य दिएकी थिइन् । 

‘तपाईंहरुले आफ्ना खोक्रा शब्दहरुका आडमा मेरा सपना, मेरो बाल्यकाल चोर्नुभएको छ, तैपनि म अझै भाग्यमानीमध्येकी एक हुँ,’ वक्तव्यमा उनले भनेकी छिन्, ‘मानिसहरु प्रताडित भइरहेका छन्, मरिरहेका छन् ।’ 

उनीहरुको उजुरी सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्नेमध्येका पाँच मुलुक जर्मनी, फ्रान्स, ब्राजिल, अर्जेन्टिना र टर्कीविरुद्ध छ ।

यी पाँच देशले ३० वर्ष पुरानो बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय अभिसन्धि ‘युएनसिआरसी’का सर्तहरु पूरा नगरेको उनीहरुको आरोप छ । हस्ताक्षर गर्ने (हालसम्म ४४) मुलुकका हकमा अन्तर्राष्ट्रिय कानुनकै दर्जा पाएको यो सन्धिले बालबालिकाको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्यगत र सांस्कृतिक अधिकार सुनिश्चित गर्छ । 

संयुक्त राष्ट्रसंघले आफ्नो ७४औँ महासभाको पहिलो दिन जलवायु परिवर्तनसम्बन्धी बृहत् सत्र राखेको छ । जहाँ, विश्वका दर्जनौँ नेताले आ–आफ्नो देशका कार्बन उत्सर्जन न्यूनीकरणका योजनाहरु प्रस्तुत गर्दै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका केही ठूला नेता भने यो सत्रमा सहभागी छैनन् । 

थन्बर्गको समूहले दायर गरेको उजुरीमा ती पाँच देशले कसरी उनीहरुको मानवअधिकार कुन्ठित गरिरहेका छन् भन्नेबारे विस्तृत विवरण राखिएको छ ।



समग्रमा, ती देशले जारी जलवायु संकटको ‘स्पष्ट पूर्वानुमान गर्न सकिने भयानक असरहरु’लाई रोक्न आफ्ना साधनस्रोतको उपयोग नगरेको र समस्या सम्बोधनका लागि अन्य देशसँग सहकार्य पनि नगरेको उनीहरुको आरोप छ । उनीहरुको आरोपमा हरितगृह ग्यासको उत्सर्जन कटौती गर्ने दिशामा पनि यी देशले पर्याप्त कदम चालेका छैनन् । 

जलवायु संकटले आफ्नो पुस्ताको जीवनमा पहिले नै असर परिसकेको भन्दै यी बाल–अभियन्ताले जलवायु परिवर्तनको असर बढ्दै जाँदा आफ्नो भावी जिन्दगी नै संकटमा पर्ने चिन्ता व्यक्त गरेका छन् । 




  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया