सिड्नीमा रनको पहाड, बाउन्ड्रीको रेकर्ड

एजेन्सी— अष्ट्रेलियाको सिड्नीमा आइतबार रनहरुको पहाड खडा भयो । खासमा यो खेल २०–२० थियो । तर, आयोजक राष्ट्र अष्ट्रेलियासँग खेल्दै थियो, श्रीलंका । 

यो खेलको ४० ओभरमा ३ सय ९३ रन बन्यो । ५५ पटक बल बाउन्ड्रीबाहिर गयो । 

यो खेल खासमा महिला क्रिकेटको थियो । त्यसैले यसबारे खासै धेरै चर्चा गरिएको छैन । तर, दुवै टिमका ओपनर खेलाडीले शतक प्रहार गरे, यो खेललाई सम्झनायोग्य बनाइदिए ।

यो खेलमा जित चाहिँ अष्ट्रेलियाले निकालेको थियो । तर, श्रीलंकाकी कप्तान चामरी अट्टापट्टुको पारी पनि कम यादगार रहेन । उनले ६६ बलमा १२ चौका र ६ दमदार छक्काका साथ ११३ रन बनाइन् । तर, उनको यो योगफलले पनि श्रीलंकाका लागि जित निकाल्न सकेन ।

र, यसको कारण थियो यही मैदानमा चामरी अट्टापट्टुभन्दा पहिले शतक हानेकी थिइन्, अष्ट्रेलियाकी बेथ मुनीले । अष्ट्रेलियाकी ओपनर बेथ मुनीले आफ्नो दमदार पारीका कारण खेललाइ अर्कै बनाइदिइन् ।

बेथले ११३ रन नै बनाएकी थिइन् । तर, उनको स्ट्राइक रेट राम्रो थियो । उनले त आफ्नो पारीमा कुनै छक्का हानिनन तर २० वटा बललाई बाउन्ड्रीबाहिर पुर्याइन् । उनले चौकाबाट मात्र ८० रन जोडेकी थिइन् । यो टी–२० मा नयाँ रेकर्ड हो ।



यसअघि पनि टी २० मा सबैभन्दा धेरै चौका हान्ने रेकर्ड बेथकै थियो । उनले यसभन्दा पहिले इंग्लयान्डविरुद्ध २०१७ मा १९ चौका प्रहार गरेकी थिइन् । पुरुष क्रिकेटमा पनि सबैभन्दा चौका हान्ने रेकर्ड अष्ट्रेलियाकै एरोन फिन्चको छ । उनले ३ जुलाई २०१८ मा जिम्बाबेविरुद्धको खेलमा ७६ बलमा १६ चौका प्रहार गरेका थिए । उनले यो खेलमा १० छक्का पनि प्रहार गर्दै १ सय ७२ रन बनाएका थिए । 

यो खेलमा अष्ट्रेलियाली महिला टिमको स्कोर दोस्रो सबैभन्दा ठूलो स्कोर हो । अष्ट्रेलिया महिला टिमले यो खेल ४१ रनले जितेको छ । तीन खेलको यो सिरिजमा अब अष्ट्रेलिया १–० ले अगाडि रहेको छ ।



  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार ९:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया