प्रधानमन्त्री ओलीसँग चिनियाँ राष्ट्रपतिको वार्ता, के हुँदैछ सम्झौता ?

काठमाडौं– राजकीय भ्रमणको दोस्रो दिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने दुई देशको उच्चस्तरीय वार्ता आज हुँदैछ । 

यो वार्तामा नेपालले एक चीन नीतिमा प्रतिबद्धता जनाउने निश्चित छ । यसको छनक सीसँगको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीले दिइसकेकी छिन् । त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिबद्धताजस्तै प्रधानमन्त्री ओलीले पनि यो भेटवार्तामा नेपालको भूमि चीन विपरित कार्यमा प्रयोग नहुने प्रतिबद्धता जनाउने छन् । 

यही वार्तामा अहिलेको सबैभन्दा चर्चामा रहेको विषय रेल मार्गबारे पनि चर्चा हुनेछ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनबारे यसअघि नै चिनियाँ राष्ट्रपतिले प्रतिबद्धता जनाइसकेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै वार्तामा चीनबाट नेपालले अनुदानको अपेक्षा गरेको विषयमा पनि चर्चा हुनेछ । बेल्ट एन्ड रोड इनिसियटिभ्सबारे पछिल्लो समय चीनले आक्रामक रुपमा कुरा उठाउन थालेको छ । यो विषयमा पनि आजको भेटवार्तामा कुराकानी हुनसक्ने बताइएको छ । 

कनेक्टिभिटी, रेलमार्ग तथा अन्य भौतिक पूर्वाधारका विषयमा नेपालले चीनसँग सहयोगको अपेक्षा आजको वार्तामा राख्ने अपेक्षा गरिएको छ । टोखादेखि नुवाकोटको छहरेसम्म र रसुवाको बेत्रावतीदेखि स्याफ्रुबेँसीमा सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना पनि आज छ ।

त्यस्तै, कृषि र पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा नेपाल र चीनबीच समझदारी पत्र पनि आज हस्ताक्षर हुने छ । आजको उच्चस्तरीय वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु ईश्वर पोखरेल, उपेन्द्र यादव, रामबहादुर थापा, प्रदीप ज्ञवाली, रघुबीर महासेठ, वर्षमान पुन, मातृका यादव र सचिवहरु सहभागी हुनेछन् । चिनियाँ पक्षबाट राष्ट्रपति सीसँग आएको टोली यो वार्तामा सहभागी हुँदैछ ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ९:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया