सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी

भीमदत्तनगर– प्रदेशस्तरको एउटा विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी यथावत् छ । यो यथार्थ कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको हो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय र रजिष्ट्रारको निवासमा ताला लागेको आधा वर्ष बितिसक्दा पनि ताला खुलाएर विश्वविद्यालयको कामकाज अगाडि बढाउने सुरसारसमेत देखिएको छैन । जिल्लास्तरमा सर्वदलीय संयन्त्र र स्थानीय प्रशासनसम्मको पहलले विश्वविद्यालयको तालाबन्दी नखुल्दा त्यहाँ कार्यरत कर्मचारी भने फुर्सदिला बनेका छन् ।

नौ वर्षअघि जन्मिँदै लामो हडताल र आन्दोलनबाट स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको कलह अझै नसकिएको त्यहाँ अध्ययनरत विद्यार्थीको दुखेसो छ । २०६५ सालमा सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको माग गर्दै यहाँका विद्यार्थी, नागरिक समाज, प्राध्यापक र सर्वसाधारणले एक महिनाभन्दा बढी समयसम्म आन्दोलन गरेका थिए ।

गत चैत अन्तिम साता विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार निलम्बन गरी नयाँलाई जिम्मेवारी दिइएपछि नेपाल विद्यार्थी संघ कञ्चनपुरले तालाबन्दी थालेको हो । विद्यार्थीको आन्दोलनलाई विश्वविद्यालय प्राध्यापक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले समेत सर्मथन जनाएका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि तालाबन्दी प्रकरण सुरु भएको थियो ।

पदमुक्त गरिएकी तत्कालीन उपकुलपति श्रेष्ठको कार्यकाल गत भदौ ७ गते सकिएको छ भने तत्कालीन रजिष्ट्रार भट्टको कार्यकाल आगामी माघसम्म छ ।  



गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन डा. गोविन्द विष्टलाई रजिष्ट्रारको दिइएको छ । श्रेष्ठ र भट्टले आर्थिक अनियमितता गरेको विषय आएपछि सरकारले तीनवटा छानबिन समिति बनाएर छानबिन गरेको थियो ।

सोही छानबिन टोलीको प्रतिवेदनका आधारमा विश्वविद्यालयका कुलपतिले जिम्मेवारीबाट हटाउँदै नयाँलाई जिम्मेवारी दिइएको बताइन्छ । 



  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १४:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया