दुई वर्षमा बन्नु पर्ने पुल पाँच वर्षसम्म पनि बनेन

धनगढी– धनगढी चटकपुर र कन्चनपुरको राजघाट जोड्ने मोहना नदीमा सम्झौताअनुसार तीन वर्षअघि नै पुल निर्माण भइसक्नुपर्ने हो । तर, काम सुरु भएको साढे पाँच वर्ष पुग्नलाग्दा पनि पुल निर्माण भएको छैन । त्यति मात्र होइन पुल कहिले बनिसक्छ भन्ने अझै टुंगो छैन । एक सय २० मिटर लामो पुलका लागि तीनवटामध्ये दुईवटा ‘स्पान’ बन्न अझै बाँकी छन् ।

सडक डिभिजन कार्यालय कन्चनपुरका अनुसार दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । सम्झौता अवधिमा पुलको पिलर निर्माणको काम मात्रै सकिएपछि सडक विभागले निर्माण अवधि दुई वर्ष थप गरेको थियो । त्यसपछि थपिएको एक वर्षमा पनि पुल निर्माण हुन सकेन । पछिल्लोपटक थप गरिएको समय गत असारमा सकिएको सडक डिभिजन कार्यालय कन्चनपुरले जनाएको छ । 

ठेकेदारको लापरबाहीले दुईपटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएको डिभिजन कार्यालयका प्रमुख अर्जुन बमले बताए । पटक–पटक म्याद नाघ्दा पनि सम्बन्धित निकायले कारबाहीको कुनै प्रक्रिया भने सुरु गरेको छैन । तेस्रो स्पान राख्नका लागि अहिले माटो भरानको काम भइरहेको बमले जानकारी दिए । ‘ठेकेदारले राम्ररी काम गरे जेठभित्र पुल बन्छ,’ बमले भने, ‘जतिसक्दो चाँडो सक्ने गरी काम गराउने पहल गरिरहेका छौँ ।’ 

चन्द्रशेखर मल्ल सञ्चालक रहेको सो निर्माण कम्पनीले अवधि थपको मागसहित निवेदन दिएको छ । तर, म्याद थपको सम्भावना नरहेको डिभिजन प्रमुख बमले बताए । दुईपटक थप गर्दा पनि काम नभएकाले अब म्याद थप नहुने प्रमुख बलमे बताए । काममा लापरबाही गरेको निर्माण कम्पनीले म्याद थप गर्नुपर्ने उचित कारण र प्रमाण सिद्ध गर्न नसकेकाले म्याद थप नहुने सडक डिभिजनले जनाएको छ ।

‘म्याद थपका लागि उचित कारण चाहिन्छ । तर, म्याद थपको जस्टिफाई निर्माण कम्पनीले गर्न सकेको छैन,’ डिभिजन प्रमुख बमले भने, ‘थप्नुपर्ने कारण जस्टिफाई हुने अवस्था छैन । त्यसैले निर्धारित अवधिमा काम सम्पन्न नगरेबापत अब निर्माण कम्पनीले हर्जाना तिर्नुपर्छ ।’ 

डिभिजनको सिफारिसमा केन्द्रले म्याद थप गर्छ । निर्माण अवधि सकिएपछि दैनिक ० दशमलव ०५ प्रतिशत हर्जाना कट्टी गरी रकम भुक्तानी गरिने बमले बताए । सुरुमा सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । अझै करिब ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको सडक डिभिजनले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २३:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया