कहिले बनिसक्छ मूलपानी क्रिकेट ग्राउन्ड ?

काठमाडौं– सहरमा क्रिकेटको क्रेज एक दशक यता निरन्तर बढिरहेको छ । तर, यही एक दशकयता क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरको एकमात्र मैदानको बेहाल कायमै छ ।

मूलपानीमा क्रिकेट मैदान बनाउन राष्ट्रिय खेलकुद परिषद्ले सुरु गरेको ५ वर्ष भइसकेको छ । त्यही ठाउँमा अर्को क्रिकेट मैदान बनाउन थालेको अब डेढ दशक भइसकेको छ । तर, मूलपानीमा बनिरहेका यी दुई क्रिकेट मैदानको निर्माणको गतिलाई ध्यान दिने हो भने लाग्न सक्छ– त्यहाँ अझै एक दशक क्रिकेट मैदान बन्दैन । 

किनकि हामी हाम्रो देशमा निर्माणका विषयमा भइरहेका ढिलासुस्तीबारे अभ्यस्त भइसकेका छौँ । 

भनिएको समयमा निर्माण हुन्थ्यो भने मूलपानी क्रिकेट ग्राउन्डमा यतिबेला अन्तर्राष्ट्रिय वा घरेलु प्रतिस्पर्धा भइरहेका हुन्थे । तर, त्यहाँ खेल्न खेलाडी र उनीहरुको खेल हेर्न दर्शक जाने त परको कुरा निर्माणमा खटिएका व्यक्तिहरु नपुगेको पनि महिनौँ भइसकेको छ । 

तर, यसको ढिलासुस्ती हुनुमा गजबका कारणहरु सम्बन्धित पदाधिकारीहरुसँग छन् । मूलपानीमा निर्माण भइरहेका दुई क्रिकेट मैदानमध्ये एउटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अर्को नेपाल क्रिकेट संघ (क्यान)ले बनाउन लागेका हुन् । तर, यी दुवै संस्थाका पदाधिकारीले यसलाई बेवास्ता गरेका छन् । 

हामी बिहिबार मूलपानीको क्रिकेट ग्राउन्डमा पुग्दा पिन ड्रप साइलेन्स थियो, त्यहाँ काम गर्ने कोही मानिस भेटिएका थिएनन् । तर, शुक्रबारमात्र फोन कुराकानी गर्दै क्यानका सचिव अशोकनाथ प्याकुरेलले दाबी गरे, ‘धमाधम काम भइरहेको छ, त्यहाँ अहिले पनि कामदारहरु पर्खाल लगाइरहेका छन्, तारबार लगाइरहेका छन्, पिच मर्मतको काम पनि भइरहेको छ ।’



उनले यही मैदानमा क्रिकेट प्रतियोगिता गर्न समेत सकिने जिकिर गरे । ‘मज्जाले अहिले नै घरेलु प्रतियोगिताहरु खेलाउन सकिन्छ,’ उनले भने, ‘अहिले पनि स्कुले बालबालिकाले त्यहाँ खेलिरहेकै छन् त ।’



त्यो मैदान हेर्न लायकको भए पनि अन्तर्राष्ट्रिय खेल खेलाउनका लागि भनेर बनाउना लागिएको अर्को मैदानको हालत चाहिँ नाजुक छ । २०७१ सालमा दुई वर्षमा बन्ने भनिएको भए पनि यो मैदानमा खासै उल्लेख्य प्रगति हुन सकेको छैन । 

बनाउन सुरु गरिएको प्याराफिट पनि पूर्णरुपमा बनिसकेको छैन । ‘त्यो त राखेपले हेर्ने हो,’ क्यानका सचिव प्याकुरेल उम्किए ।

राखेप चाहिँ बजेट अभाव भएकाले अहिलेको काम रोकिएको र बजेट नआउन्जेल काम सुरु गर्नै नसकिने बताउँछ । ‘राखेपसँग बजेट छैन, त्यसैले काम रोकिएको हो,’ राखेपका पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने, ‘मन्त्रालयले बजेट दिएपछि मात्रै नयाँ टेन्डर आह्वान गरिने छ ।’

यो मैदान कहिलेसम्म बनिसक्छ त ? 

यो कुरा त स्वयं राखेपका अधिकारीलाई नै अत्तोपत्तो छैन । 

  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १७:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया