सिके राउत
काठमाडौंमा सिके राउतको किम जङ–उन शैली

काठमाडौं– अलग मधेशको माग गर्दै राजनीति सुरु गरेका डा. सिके राउत मूलधारको राजनीतिमा जोडिन आइपुग्दा सबैलाई अचम्म लागेको थियो । त्यति बेला कतिपयले आशंका समेत गरेका थिए, डा. सिके राउतले केही समयका लागि सरकारलाई गलाउन यस्तो कदम चालेका हुन् । 

तर, अब उनी प्रत्यक्ष राजनीतिमा देखिएका छन् । उनको जनमत पार्टीले १४ मंसिरमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारीसमेत दिएको छ ।

तिनै सिके राउत शनिबार काठमाडौंमा एक कार्यक्रममा सहभागी भए । 

कार्यक्रम थियो– रंगभेदविरुद्धको एकता दिवस । 

प्रत्येक वर्ष १० मंसिरमा मनाइने यो दिवस यो वर्ष ७ मंसिरमा मनाइयो । यसको कारण पनि उपनिर्वाचन नै हो । यही कार्यक्रममा सहभागी हुन डा. सिके राउत काठमाडौं आइपुगेका थिए । 

मूलधारको राजनीतिमा आए लगत्तै जनकपुर पुगेका सिके राउतको स्वागतमा त्यति बेला ठूलो जुलुस लागेको थियो । र, त्यही जुलुसमा उनलाई सुरक्षा दिन जनमत पार्टीकै सुरक्षा दस्ता देखिएको थियो । उनीहरुले त्यति बेला बुलेट प्रुफजस्तो लाग्ने कालो ज्याकेट लगाएका थिए । कालो चश्मा र मास्क लगाएर अनुहार छोपेका थिए ।



राउतलाई सुरक्षा दिनका लागि उनी विमानस्थलमा नपुग्दै त्यहाँ उनका सुरक्षा दस्ता खटिएका थिए । उनीहरुले त्यति बेला सिके राउतसँग पत्रकारलाई भेट्न पनि रोकेका थिए । उनीहरु कहाँबाट ल्याइए भन्ने विषयमा त्यति बेला प्रश्नहरु उठे तर त्यसको उत्तर न सिके राउतले दिए न उनको पार्टीले नै दियो ।

त्यसपछि पहिलो पटक काठमाडौंमा सार्वजनिक कार्यक्रममा आइपुगेका सिके राउतले आफ््नो सुरक्षाका लागि आफ्नै ‘सुरक्षाकर्मी’ वा गार्ड प्रयोग गरेको देखियो ।



गत अप्रिलमा सिंगापुरमा जाँदा किम जङ उनकाे वरपर दाैडिएका सुरक्षागार्ड देखिएका थिए ।

शनिबार राजधानीका विभिन्न स्थानबाट निस्किएको टोली भृकुटीमण्डपमा पुगी सभामा परिणत भएको थियो । त्यही कार्यक्रममा सिके राउत कडा सुरक्षासहित पुगेका हुन् । त्यसका लागि उनकै सुरक्षा गार्ड प्रयोग भएका थिए । टाइ सुटमा सजिएका उनका सुरक्षा गार्ड र बीचमा गुडिरहेको उनको गाडी देख्दा गत अप्रिलमा उत्तर कोरियाली नेता किम जङ–उनले आफ्नो सुरक्षामा गार्डहरु खटाएको झझल्को आउँथ्यो ।

उत्तर कोरियामा नेता किम जङ–उनको सुरक्षाका लागि उनी सिंगापुर पुग्दा उनका सुरक्षागार्ड किमको लिमोजिनीको वरपर देखिएका थिए । कालो सुटमा सजिएका यी सुरक्षा गार्डलाई कोरियन पिपुल्स आर्मीबाट किमको विशेष सुरक्षाका लागि छानिएका हुन्छन् । सिंगापुरमा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेटका लागि किम पुगेका थिए, उनका रनिङ गार्ड्स पनि उनीसँगै पुगेका थिए । उनीहरुले वार्तास्थलमा किम पुग्दा गाडी वरपर दौडिएर सुरक्षा दिएका थिए । गाडी वरपर देखिएका १० जना सुरक्षाकर्मीको उचाइ लगभग एउटै थियो र उनीहरुले एउटै कपडा लगाएका थिए । 

यता, शनिबार भृकुटीमण्डप पुग्नुअगाडि सिके राउतको सुरक्षामा पनि त्यस्तै बढीगार्ड देखिए । उनीहरुले पनि कालो चश्मा, सुट र टाइ लगाउँदै राउतको गाडी वरपर दौडिएर सुरक्षा दिए ।

  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार ११:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया