हिमपातका कारण अर्धवार्षिक परीक्षा रोकियो

दार्चुला– दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिका भित्रका विद्यालयमा सञ्चालन भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । शुक्रबार र शनिबार आएको हिमपातका कारण आइतबारदेखि सुरु हुनुपर्ने परीक्षा रोकिएको हो ।

गाउँपालिकाभरका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभर एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए ।

सो गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायत विद्यालयको परीक्षा रोकिएको छ । रोकिएका विद्यालयरुमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ ।

सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिए । गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ । 

चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताए । आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ । 

यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार १७:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया