नेपाली विद्यार्थीलाई कडाइ गर्नु पर्ने अष्ट्रेलियन शिक्षाविद्काे माग
सिड्नी विश्वविद्यालयका एसाेसियट प्राेफेसर साल्भाटाेर ।

एजेन्सी– उच्च शिक्षाका विज्ञहरुले अष्ट्रेलियाको सरकारसँग नेपाली विद्यार्थीको बढ्दो संख्यालाई ख्याल गरेर तत्काल ‘रेड फ्ल्याग’ गर्न अनुरोध गरेका छन् । उनीहरुले नेपाली गरिब परिवारलाई अष्ट्रेलियाका रोजगारदाताहरुले अनावश्यक शोषण गरेकोमा चासो व्यक्त गरेका हुन् ।

सन् २०१७ देखि नेपाल अष्ट्रेलियामा विदेशबाट पढ्न आउने विद्यार्थीहरुमा संख्यात्मक हिसाबले नेपाल तेस्रो नम्बरमा पर्न थालेको छ । अष्ट्रेलिया पढ्न सबैभन्दा बढी चीन र भारतबाट विद्यार्थी जाने गरेका छन् । धेरै विद्यार्थी आउने देशको सूचीमा नेपाल मलेसिया, भियतनाम, इन्डोनेसियलगायतका देशहरुलाई पछाडि पार्दै तेस्रो नम्बरमा पर्छ । 

यो वर्ष अक्टोबरसम्ममा नेपालबाट ६५,७४६ विद्यार्थीले अष्ट्रेलियामा टर्सियरी कोर्समा भर्ना पाएका छन् । यो सन् २०१६ मा अष्ट्रेलिया पुगेका २१ हजार विद्यार्थीभन्दा तीन गुणा बढी हो । 

सन् २०१८–१९ मा नेपालबाट विद्यार्थी अष्ट्रेलिया जाँदा २.६ बिलियन अमेरिकी डलर नेपालबाट बाहिरिएको छ । यो अघिल्लो वर्षभन्दा झन्डै दोब्बर हो । अघिल्लो वर्ष अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीका कारण नेपालबाट १.६ बिलियन डलर बाहिरिएको थियो । 

अष्ट्रेलियन मिडिया द सिड्नी मर्निङ हेराल्डमा छापिएको रिपोर्टअनुसार अष्ट्रेलियाकै कारण नेपालमा शैक्षिक परामर्शदाता कम्पनीहरुको नम्बर पनि उल्लेख्य मात्रामा बढेको छ । 

रिपोर्टमा अधिकांश नेपालीहरु सिड्नीको न्यु साउथ वेल्स जाने उल्लेख गरिएको छ । नेपालीहरुले भिक्टोरियालाई भन्दा सिड्नीलाई प्राथमिकता दिने गरेको रिपोर्टमा उल्लेख छ । यो वर्ष ४२,५०० विद्यार्थीले सिड्नीमा भर्ना पाएको र ११,३०० विद्यार्थीले भिक्टोरियामा पढ्न रोजेको रिपोर्टमा लेखिएको छ । 



यो ट्रेन्डले त्यहाँका शैक्षिक क्षेत्रका विज्ञहरुलाई सशंकित बनाइदिएको छ । उनीहरुले नेपाली विद्यार्थीले अष्ट्रेलियामा कलेज वा विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले काममा शोसित हुनु परेको कुरालाई उजागर गरेका छन् । 

अष्ट्रेलियन नेसनल विश्वविद्यालयका प्रोफेसर एन्ड्«यु नोर्टनले नेपालबाट ओइरिएका यी विद्यार्थीमाथि अष्ट्रेलियाको इमिग्रेसनले तत्काल रेड फ्ल्याग देखाउनु पर्ने जनाएका छन् । 



‘नेपाल त्यति ठूलो जनसंख्या भएको देश होइन र नेपाल अत्यन्त गरीब छ,’ उनले भनेका छन्, ‘त्यसैले यहाँ प्रारम्भिक प्रश्न के उठ्छ भने त्यहाँका विद्यार्थी यहाँ आएर शिक्षा अफोर्ड गर्न सक्छन् त ?’

उनले नेपाली विद्यार्थीहरुले अत्यन्त ठूलो मात्रामा आफ्ना श्रीमान वा श्रीमती पनि अष्ट्रेलिया लैजाने गरेको कुरा गरेका छन् ।

उनीजस्तै अन्य प्रोफेसरले पनि यो विषयमा चिन्ता व्यक्त गरेका छन् र तत्काल नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया जाने कुरामा कडाइ गरिनु पर्ने धारणा राखेका छन् । 

  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १७:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया