[तस्वीरहरु] पाटन दरबार स्क्‌वायरको ‘आँगनीमा’ कसरी आयो चन्द्रमा ?

नेपालमा एउटा क्लिसे छ– प्रेमीले प्रेमिकालाई तिम्रा लागि चन्द्रमा नै झारिदिउँला भनेको गीतमा मात्र होइन, चर्चित प्रेमपत्रहरुमा पनि पढ्न सकिन्छ । 

तर, के प्रेममा बाहेक वास्तवमा चन्द्रमा कसैका लागि झार्न सकिन्छ ? 

सकिँदैन । 

प्रेममा व्यक्त भावनालाई चाहिँ कलाको माध्यमबाट वास्तविकतामा पुर्याउन चाहिँ सकिँदो रहेछ । यही देखाएका छन्, कलाकार मिलन राईले । 

आइतबार साँझ उनले पाटन दरबार स्क्वायरलाई छाने र आफ्नो कला प्रदर्शनी गरे । वास्तविक वस्तुलाई जस्तै कलाले सिँगारेर मानिसले महसुस गर्ने गरि कहीँ राखिनुलाई ‘इन्स्टलेसन आर्ट’ भनिन्छ । मिलनले यसलाई नै पछ्याएका हुन् ।

त्यसैले त आइतबार पाटन दरबार स्क्वायारमा चन्द्रमाको अगाडि बसेर फोटो खिच्नेहरुको घुइँचो नै लाग्यो ।



त्यसो मिलनले यस्तो प्रयोग यो पहिलो पटक गरेका होइनन् । संसारभर उनले सेतो पुतली टाँसेर हिँडिरहेका छन् । त्यसैले उनलाई त कतिले बटरफ्लाई म्यानसमेत भन्छन् । मिलनले पुतलीलाई नेपालमा मात्र होइन, हार्वर्ड विश्वविद्यालयको भित्तामा समेत टाँसेका छन् । 

तर, मिलनले पनि अरु कलारकारले जस्तै क्यानभासबाट नै चित्र बनाउन थालेका हुन् । ‘विस्तारै मलाई लाग्यो, चित्र बनाउने भनेको क्यानभासमा मात्र होइन,’ मिलनले आइतबार साँझ पाटन दरबार स्क्वायरमा फरक धारसँग भने, ‘कला र चित्र त खुला ठाउँमा आउनु पर्छ भन्ने मलाई लाग्यो । अनि म यता लागेँ ।’



पाटनको दरबार स्क्वायारमा मिलनले राखेको चन्द्रमा चाहिँ आठ मिटर गोलाद्र्धको थियो । ‘आर्ट, आर्टिस्टिक एक्टिभिटिज नभएको सहर एकदम बोरिङ हुन्छ,’ मिलनले यसरी सहरमा आएर आफ्नो कला प्रदर्शनी गर्नुको कारण बताए, ‘कलाले मानिसलाई नयाँ सोच्न प्रेरित गर्छ, नयाँ अर्थमा मानिसलाई अगाडि बढाउँछ ।’

मिलनले संसारको जुनसुकै ठाउँबाट पनि चन्द्रमा देखिने र चन्द्रमालाई आफूले प्रयोग गर्दा त्यसले अब सन्तोष दिने भएकाले आफूले त्यसो गरेको बताए । ‘मानिसहरुले देख्नेवित्तिकै चिन्ने केही बनाउन चाहन्थेँ,’ उनले भने, ‘त्यसैले चन्द्रमा बनाएको हुँ ।’

वर्षको सबैभन्दा लामो रात हुने दिन आइतबार थियो, त्यसैले मिलनले यही दिनलाई छाने । फेरि आइतबार उनको जन्मदिन पनि थियो । ‘यो त जन्मदिन मनाउने एउटा तरिका पनि भयो,’ मिलनले भने, ‘यो चन्द्रमा अब म पोखरामा लैजादैँ छु ।’

मिलनले यो कला बनाएको बेलुन चाहिँ चीनबाट ल्याएका हुन् ।

तस्बिर: सुरेन्द्र बजगाईं/दिवेश सायमी 

  • प्रकाशित मिति : पुस ७, २०७६ साेमबार ९:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया