पाटनको गोल्डेन टेम्पल जहाँ पुजिन्छ मुसा, हुन्छन् १२ वर्षका मुनिका वाफाचा

काठमाडौं– पाटनको प्रसिद्ध मन्दिर हो, कृष्ण मन्दिर । यो मन्दिरको पछाडिबाट सानो गल्लीबाट बंगलामुखीतिर जाँदा बाटोमै पर्छ, हिरण्यवर्ण महाविहार । पाटन क्षेत्रमा भएका १८ महाविहारमध्ये एक विहार हो, हिरण्यवर्ण । तर, यी सबै १८ विहारभन्दा यो अलिक फरक छ, यसको पुजारीका कारण वा यहाँको पद्धतिका कारण ।

बाटोमै चाहिँ यो महाविहारको ढोका पनि साँघुरो छ । तर, भित्र यसको फैलावट निकै ठूलो छ । 

किराँतकालमा बनेको यो महाविहारको उल्लेख्य विशेषता के भने यसमा अहिले पनि त्यति बेलाको संस्कार र संस्कृति केही पनि हेरफेर नगरि जीवितै राखिएको छ ।

यही महाविहारमा छ, एउटा सुनौलो छाना भएको मन्दिर । सुनौलो छाना भएकाले नै यसलाई आजभोलि ‘गोल्डेन टेम्पल’ भनेर चिनिन थालेको छ ।

बौद्ध धर्मालम्बीको विशेष विहार यहाँ भगवान बुद्धको मात्र होइन, मुसाको पनि पूजा गरिन्छ । 

अहिले गाेल्डेन टेम्पलका वाफाचा



र, यी सबै पूजा गर्नका लागि यहाँ स्थानीय रुपमा नै पुजारी राखिन्छ । ती पुजारीलाई भनिन्छ– वाफाचा । 

शाक्य र बज्राचार्य समुदायबाट वाफाचाहरु छानिन्छन्, त्यसैले यो महाविहारको सदस्य भएका सबै परिवारका पुरुष सदस्यहरु एकपटक वाफाचा बन्नै पर्छ । तर, वाफाचा बन्नका लागि सबैभन्दा पहिलो र अनिवार्य नियम हो– १२ वर्ष कटेको हुनुहुँदैन । 



यस्तो किन हुन्छ ? 

यस विषयमा विभिन्न किवंदन्तीहरु छन् ।

तीमध्ये एक हो– ६ सय वर्षअघिको कुरा हो । जयस्थिति मल्ल पाटनका राजा बने । जयस्थिति मल्ल पाटनको राजा बन्ने समयमा उपत्यकामा बुद्ध भिक्षुहरुको बाहुल्यता निकै थियो । अनि बौद्ध विहारमा चिवर (सेतो लुगा) धारण गरेका शाक्य भिक्षुहरु सधैं पूजा गर्न आउँथे ।

तर, जयस्थिति मल्ललाई यही कुरा चित्त बुझेन । उनी चिवर धारण गरेका पुजारीहरु आजीवन ब्रह्मचारी बस्थे । जयस्थिति मल्लले यसलाई रोक लगाउने सोचे । 

अनि उनले ती भिक्षुहरुलाई विहारमा पूजा गर्न जान रोक लगाए । तर, यसले उनले सोचेको जस्तो नतिजा दिएन । उल्टै अहिलेको गोल्डेन टेम्पलमा पुजारीको सर्टेज हुन थाल्यो । त्यसपछि त्यहाँ उपाय निकालियो– १२ वर्ष कमका बालकहरुलाई चिवर धारण गराउने अनि पूजा गर्न लगाउने ।

त्यहीबेला देखि अहिलेसम्म गोल्डेन टेम्पलमा १२ वर्षमुनिका वाफाचाले पूजा गर्न थालेका छन् । नेवारी शब्द वाफाचाको ठेट अर्थ चाहिँ वहालमा पालो गरेर बस्ने मान्छे हो । 

तर, १२ वर्षमुनिका वाफाचाले मात्र पूजाआजाको सबै काम नसक्ने हुँदा यहाँ अर्का एक युवालाई पनि वाफाचाका रुपमा राखिन्छ । 

अनि महिनैपिच्छे वाफाचा परिवर्तन गर्ने प्रचलन बनाइएको छ । यसो गर्दा यो महाविहारका सदस्यका रुपमा रहेका सबै परिवारका ‘छोरा’हरुले कम्तिमा पनि एकपटक वाफाचा बस्नै पर्ने हुन्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने यसरी वाफाचा राख्दा पनि एउटा परिवारमा ५२ वर्षपछि मात्र पालो आउँछ । 

 

०००

यही स्वर्ण मन्दिरका वाफाचासँग कुराकानी गर्न केही दिनअघि हामी मन्दिरमा पुग्यौँ । 

हामी पुग्दा अहिलेका वाफाचा मन्दिरअगाडि नै थिए । उनलाई सहयोग गर्ने सहयोगी अर्थात् ‘ठूला वाफाचा’ पनि त्यही थिए । 

तपाईंको नाम के हो ? हामीले पहिलो प्रश्न वाफाचालाई सोध्यौँ । 

‘यहाँ वाफाचा भएर आएपछि त नाम नै हुँदैन,’ ती वाफाचा बोलेनन्, उनका सहायक वाफाचा अर्थात् ठूला वाफाचाले भने, ‘वाफाचा बस्ने एक महिना कसैको पनि परिचय नै बाँकी रहँदैन ।’

यति भनिसकेपछि यी वाफाचा खेल्न निस्किए । तर, उनी मन्दिरको मुख्य गेटभन्दा बाहिर जान पाउँदैनन् । उनी प्रत्येक दिन दुई पटक घन्टी बजाउँदै यही मन्दिरले ओगट्ने क्षेत्रमा चाहिँ जान पाउँछन् । अरु समयमा विहारको क्षेत्रभन्दा बाहिर जान पाउँदैनन् । 

उनी निस्किएलगत्तै बोधिरत्न शाक्य ती वाफाचाबारे कुरा गर्न तम्सिए । त्यसो त बोधिरत्न पनि झन्डै ५० वर्षअघि यही विहारमा वाफाचा बसेका थिए । त्यसैले कुराकानीको क्रममा उनले आफ्नै त्यति बेलाको अनुभव पनि सुनाए ।

‘यो विहारको सदस्य ५ हजारभन्दा बढी पुगिसकेका छन्,’ उनले सुरुवात गरे, ‘यहाँ धेरै परिवार भइसकेका छन् । त्यसैले अब एउटा परिवारको पालो आउन नै ५२ वर्ष लाग्छ ।’

शाक्यका अनुसार एउटा वर्षमा १२ वाफाचा हुन्छन् जसको निर्धारण चाहिँ जनैपूर्णिमाको दिन गरिन्छ । ‘त्यो दिन सामूहिक भेला हुन्छ,’ उनले भने, ‘वर्षभरका लागि चाहिने वाफाचा र सहयोगी वाफाचाको नाम त्यही दिन तोकिन्छ ।’

त्यसैले, यो क्षेत्रका सबै युवाहरु कुनै न कुनै समय वाफाचा बसिसकेको मान्छन्, बोधिरत्न । 

अहिलेका ठूला वाफाचा ।

‘अनि कोही बालक वाफाचा भएर आएपछि यहाँको निश्चित क्षेत्रबाट ऊ बाहिर जान पाउँदैन,’ बोधिरत्नले भने, ‘स्कुल पनि जान पाउँदैनन् ।’

‘मन्दिरमा कुनै नराम्रो काम भएको रहेछ भनेमात्र पनि यहाँ वाफाचा झर्किएको थाहा भइहाल्छ,’ स्थानीय चक्रराज बज्राचार्यले भने, ‘कतिसम्म भने वाफाचालाई पकाउन लागेको खाना घन्टौसम्म नपाकेका उदाहरण पनि छन् ।’ यस्तो भएमा उनीहरुले तत्काल मन्दिरमा क्षमा पूजा गर्छन् । 

त्यसैले मन्दिरमा गरिने पूजा संस्कारित होस् भन्नेमा वाफाचा पनि निकै सजग हुन्छन् । 

प्रत्येक दिन ठूलो वाफाचा विहान ३ बजे उठ्छन् । सानो वाफाचालाई उठाउँछन् र नित्यकर्ममा लाग्छन् । त्यसपछि सुरु हुन्छ, उनीहरुको पूजाकर्म । 

पूजाकर्मका लागि सबैभन्दा पहिले उनीहरु नामसंगती पाठ गर्छन् । प्रत्येक दिन नामसंगती पाठ गर्दा नै झन्डै दुई घन्टा जान्छ । 

अनि उनीहरु बुद्ध मुर्तीलाई स्नान गरेको पानी बाँड्न व्यस्त हुन्छन् । उनीहरुले पूजा गर्दै बुद्धमुर्तिलाई गराएको स्नानको पानी त्यहाँका स्थानीयले लैजान्छन् । यो जललाई उनीहरु पवित्र मान्छन् । 

खासमा ठूलो वाफाचाको काम सानो वाफाचालाई सहयोग गर्ने मात्र हो । अधिकांश पूजा त सानो वाफाचाले नै गर्नु पर्ने हुन्छ । सानो वाफाचाले यो मन्दिरमा विहानदेखि साँझसम्म चारपटक धर्मकन्थ बजाउँछन् । धर्मकन्थ काठको बाजा हो, जसले यो विहारका सदस्यहरुलाई विभिन्न समयबारे जानकारी दिन्छ । त्यसैले विहान साढे चार बजे र नौ बजे बजाउने धर्मकन्थलाई उनीहरु माहाजं भन्छन् भन्ने दिउँसो तीन बजे र पाँच बजे धर्मकन्थ बजाउँदै वाफाचा जाँदा यसलाई संवनीगु भनिन्छ ।

यो एक महिना वाफाचाले नुन खान पाउँदैनन् । पकाउन त उनलाई चामलको भात नै पकाइन्छ, तर तरकारी पकाइँदैन । तरकारी पकाएकै खण्डमा पनि त्यसमा नुन हालिँदैन । र, यसमा विशेष नियम छ– वाफाचाका लागि पकाइने चामलको एउटै गेडा टुटेको हुनुहुँदैन । र, यसको सबै बन्दोबस्त वाफाचाको घरबाट नै गरिन्छ ।

‘एक महिना भगवान जस्तै शुद्ध हुनुपर्छ भनेर यसो गरिएको हो,’ वाफाचाले भने, ‘त्यही भएर यहाँ वाफाचा बस्दा कुकुर र बिरालो वा अरु जनावरलाई पनि छुन पाइँदैन ।’

वाफाचाका लागि मात्र यो नियम होइन, उनको घरका अन्य सदस्यका लागि पनि एक महिने नियम लागु हुन्छ । वाफाचाका परिवारका सदस्यले एक महिनासम्म उधारो सामान किन्न पाउँदैनन्, कपडा धुन पाउँदैनन्, कोही छिमेकीको मरण भयो भने ती ठाउँमा जान पाउँदैनन् । 

बोधिरत्न त अहिले काठमाडौं, भक्तपुर र ललितपुरका सबै विहार दाँज्ने हो भने सबैभन्दा कडा नियम भएको विहारका रुपमा यसलाई चिनाउँछन् । ‘यहाँ पहिले नै नियमहरु बनिसकेका छन्,’ उनले भने, ‘यहाँ नियममा केही मात्र पनि तलमाथि गर्ने हो भने त्यसले वाफाचालाई सिधै असर गर्छ ।’

यहाँको नियम कति कडा छ भने विहार परिसरमै भएको एउटा मूर्तिमा वाफाचाले पूजा गर्ने मात्र होइन, जान पनि पाउँदैनन् । किनकि त्यहाँ बली दिने प्रचलन छ । त्यस्तै, त्यहाँ भएको हनुमानको मुर्तिलाई पनि वाफाचाले छुन पाउँदैनन् ।

के यति धेरै नियममा बाँधिएर वाफाचा यहाँ बस्दा उनको मन रमाउँछ त ? 

‘मलाई त रमाइलो नै लागेको छ,’ सानो वाफाचाले भने, ‘तर, विहान विहान चिसोमा नुहाउनु पर्छ, स्कुलका साथीहरुसँग पनि खेल्न पाइँदैन । त्यसैले अलिक झ्याउ पनि लागेको छ ।’

चन्चले स्वभावका यी वाफाचा यति भनेर फेरि खेल्न दौडिए । एकैछिनमा फर्किएर आए अनि भने, ‘मलाई त यहाँ उत्पातै रमाइलो लागेको छ, फेरि पनि वाफाचा बस्न मन छ ।’

उनको उमेरका कारण उनी अरु धेरै कुरा बुझ्दैनन् । 

तर, उनलाई सहयोग गर्न बसेका ठूला वाफाचा भन्छन्, ‘यहाँ एक महिनामात्र वाफाचा बस्दा पनि मनबाट लोभ र क्रोध, मोह र भय हराउँदो रहेछ ।’

यतिमात्र होइन, यहाँको सात्विक भोजन पनि मन परेको छ उनलाई । 

‘बुद्धले भनेका थिए– आफ्नो शरीरलाई पुग्ने मात्र खाउ,’ उनले भने, ‘बाहिर बस्दा यो खाऔँ, त्यो खाऔँ हुन्छ, यहाँ आएपछि त त्यो सोच नै हराएको छ ।’

सिर्जना कलेज अफ फाइन आर्ट्समा ग्राफिक डिजाइन र स्ट्रिट आर्ट पढिरहेका यी ठूलो वाफाचालाई लाग्छ, मानिसले लुगाको रंगका कारण नै धेरै समस्या निम्त्याउँदै गएका हुन् । 

‘रंगीन कपडा लगायो भने मन अशान्त हुँदो रहेछ,’ झन्डै एक महिना सेतो कपडा मात्र लगाएर बसेपछि उनले बुझेका छन्, ‘रंगहरुले जीवनमा धेरै कुरा निर्धारण गर्दा रहेछन् ।’

अब उनले आफ्नो औपचारिक अध्ययनमा रंगहरु कसरी खेलाउलान् ?

  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १९:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया