ओली–दाहाल एमसिसी र सभामुखमा अनिर्णित
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कसलाई सभामुख बनाउने र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने विषयमा विवाद उत्कर्षमा पुगेको छ । यसबारे नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति जुट्न सकेको छैन । 

दुवै विषयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका अडानलाई नेकपाकै नेताहरुले अस्वीकार गर्ने भएका छन् । दुवै विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहज हुने गरि नेकपाका नेताहरु देखिएपछि यसबारे के गर्ने भन्ने टुङ्गो ओली पक्षले लगाउन सकेको छैन । 

यसमा ओलीका लागि सबैभन्दा ठूलो चुनौतिका रुपमा देखिएका छन्, पुष्पकमल दाहाल प्रचण्ड । किनकि प्रचण्ड पछिल्लो समयमा सभामुख र एमसिसी दुवैको विषयमा वरिष्ठ नेताहरुसँग मात्र होइन पार्टीमा दोस्रो तहका नेताहरुसँग पनि छलफलमा जुटेका छन् । 

नेकपाका एक केन्द्रीय सदस्यले यो मुद्दा अहिले पार्टीमा सबैभन्दा जटिल मुद्दा भएको बताउँछन् । ‘यसले पार्टीको भविष्य पनि निर्धारण गर्नेछ,’ उनले भने, ‘अध्यक्ष दुईले एकअर्कासँग यसबारे खुलेर कुरा गर्नुभएको छ तर उहाँहरुको मत एकअर्कासँग फिटिक्कै मिलेको छैन ।’

यी दुईबीचको यो मतान्तर सभामुख चयन प्रक्रियासँग जोडिएको छ । दुवैले सभामुखमा आफ्नो पक्षका नेता हुनु पर्ने अडान राख्दै आएका छन् । 

संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली भएको छ । सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने सत्तारुढ दल नेकपाले नटुङ्ग्याउँदा संसदका काम तथा कारवाही धेरै रोकिएका छन् । तर, यस विषयमा अझै पनि पूर्वएमाले र पूर्वमाओवादीको मत मिल्न सकेको छैन । 



प्रधानमन्त्री केपी शर्मा ओली अब सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् । यो कुरा स्वयं सुवास नेम्वाङले पनि विभिन्न मिडियामा दिएका अन्तर्वार्तामा स्वीकार गरिसकेका छन् । तर, महरा पूर्वमाओवादीबाट भएको तर्क प्रस्तुत गर्दै प्रचण्ड सभामुखमा अग्नि सापकोटालाई अगाडि सारिरहेका छन् । प्रचण्डको यो तर्कलाई पूर्वएमालले अहिले पार्टी एकीकरण भइसकेकाले भागवण्डामा जान नहुने भन्दै पन्छाउँदै आएका छन् । 

सभामुखमा आफूनिकट व्यक्ति ल्याउँदा आफ्ना योजना र अन्य कार्यक्रमहरुलाई संसदमा सहज पारित गर्न सकिने अनुमान केपी शर्मा ओली छन् । यसअघि एमसिसीमा मात्र होइन, अन्य विधेयकमा पनि महराले ओलीको निर्देशनलाई पूर्णतः पालना गरेका थिएनन् । त्यस्तै घटनाहरु नदोेहोरिउन् भन्ने पक्षमा अहिले ओली छन् । 



अर्कोतिर, पूर्वमाओवादी नेताहरु अध्यक्ष प्रचण्डसँग धेरै कुरामा कम्प्रोमाइज गरेको गुनासो गरिरहेका छन् । ‘उहाँहरुको पार्टीका अन्य नेताहरुका कारण पनि प्रचण्डमाथि अहिले यो विषयमा ठूलो दबाब छ,’ नेकपामा ओलीसँग निकट ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले यो अडानबाट प्रचण्ड अहिले तत्काल पछाडि हट्ने मनस्थितिमा हुनुहुँदैन भन्ने हाम्रो बुझाई हो । उहाँहरु सभामुख आफूहरुले नै पाउनु पर्ने पक्षमा हुनुहुन्छ ।’

पछिल्ला दिन यी विषयमा सहमति नभएपछि नेकपा अध्यक्ष प्रचण्ड आराम गर्न सिन्धुपाल्चोक पुगेका छन् । त्यसो त यसअघि पनि उनी कुनै बोल्ड डिसिजन लिनु परेको खण्डमा सिन्धुपाल्चोकमा नै रहेको ‘सुकुटे बीच’ जाने गरेका थिए । प्रचण्ड सचिवालयका एक सदस्यले यसपटक कुनै राजनीतिक कार्यक्रम नभए पनि काठमाडौंमा बढी दौडधूप रहेकाले एक रातका लागि आराम गर्न नै प्रचण्ड सिन्धुपाल्चोक पुगेको फरकधारलाई जानकारी दिए । 

 

  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार १२:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया