गगनको गर्जन : विधेयककाे प्रत्येक शब्द–शब्दमा छलफल गर्न तयार छु, नपढी आयो भनेर हेप्ने ?

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको कडा आलोचना गरेका छन् । काम गर्ने आँट नभएपछि जनताको मुख थुन्‍न प्रधानमन्त्री केपी शर्मा ओलीले सो विधेयक ल्याएको उनले दाबी गरेका छन् । 

विधेयकको विरोधमा नेपाल विद्यार्थी संघको आयोजनामा माइतीघर मण्डलामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीमा काम गरेर मुख बन्द गर्ने आँट नभएपछि विधेयक ल्याएर तर्साउन खोजिएको दाबी गरे ।

आलोचना गर्नेहरुका मुख म काम र परिणामले बन्द गर्दिन्छु भन्ने हिम्मत नेपालका प्रधानमन्त्रीसँग नभएको थापाको आरोप छ । सो विधेयक पारित भए संविधानप्रदत्त हक, अधिकार खोसिने नेता थापाको भनाइ थियो । विधेयक पारित भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्तालाई मात्रै लेख्ने र बोल्ने अधिकार हुने उनले बताए । 

उनले संसद्मा संख्याका हिसाबले थोरै भए पनि कांग्रेसले विधेयकका विरुद्धमा लड्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘यो कानुन कसले रोक्ने ? हामी संसद्मा थोरै छौँ । उनीहरुसँग संख्याको ताकत छ,’ थापाले भने, ‘तर पनि हामी लड्छौँ । संख्याको तकतलाई रोक्न सडकको ताकत आवश्यक छ ।’ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक अध्ययन नै नगरी विरोध भएको भन्ने आरोपको खण्डन गर्दै थापाले विधेयकका धारा र दफामा छलफलका लागि तयार हुन चुनौतीसमेत दिए ।  

‘यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी ? सिंहदरबारमा गर्ने हो ? संसद्मा गर्ने हो ? माइतीघरमा गर्ने हो कि तिम्रो कार्यालय धुम्बाराहीमा गर्ने हो ?’ मन्त्री बास्कोटालाई छलफलका लागि चुनौती दिँदै उनले भने, ‘प्रत्येक दफा–दफा, शब्द–शब्दमा छलफल गर्न तयार छु । हेप्ने हाम्लाई ? नपढीकन आयो भन्ने ?’





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार १७:२३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया