कोरोना शंकास्पद बिरामीको उपचारका लागि भरतपुर अस्पतालमा छुट्टै कक्ष

चितवन– चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ ।

उपत्यकाबाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच शय्याको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शंकास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरी काम शुरु गरिएको छ । 

अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ । अस्पतालमा कार्यरत  विशेषज्ञ  चिकित्सक डा‍. प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिइएको उनले जानकारी दिए । उनीहरु दुवै फिजिसियन हुन् । 

परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको आशंका लागेमा नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउने व्यवस्था मिलाइएको छ । 

बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाई प्रकाशन एवं प्रसारणको प्रक्रिया शुरु गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । 

नियमित रुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिनेछ । 



यस्तै खोक्दा वा हाँछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान पौडेलले सुझाव दिए । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तर्क्रिया कार्यक्रम गर्ने जनाएको छ । 

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्छन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए । 
 



  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १५:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया