प्लेटाेका १२ वाणी

१. मानिसले सफल हुनका लागि हरसम्भव मिहिनेत गर्छ । विभिन्न हतकन्डा अपनाउँछ, आइडिया निकाल्छ । प्लेटो भने मानिस सफल हुनका लागि तीन चिजको आवश्यकता पर्ने बताउँछन्– इच्छा, भावना र ज्ञान । उनको भनाइअनुसार यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ ।

२. मनिसले थुप्रै कामको योजना बनाएको हुन्छ, सपना देखेको हुन्छ । जुन दिनप्रतिदिन फेरिँदै पनि जान्छन् । कतिले आफूले बनाएका योजना कार्यान्वयनमा समेत लैजान सक्दैनन् । तर, प्लेटो भन्छन् कि काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो । त्यसैले तपाईंले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस् । जसले जीवन सफल बनाउन भूमिका खेल्छ।

३. अरूलाई पछि पार्न, पराजित गर्न र नंग्याउनका लागि मानिस लागिपर्छ र यस्तो गतिविधि सफल भएमा आफूलाई विजयी ठान्छ । यस विषयमा प्लेटोको फरक धारणा छ । उनी भन्छन्, ‘पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।’

४. एउटा चर्चित भनाइ छ, ‘स्वास्थ्य नै धन हो’ । प्लेटोको पनि स्वास्थ्यसम्बन्धी महत्वपूर्ण वाणी छ । उनले स्वास्थ्यलाई जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष मानेका छन् । भनेका छन्, ‘स्वास्थ्यप्रति निकै सचेत हुनुस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।’

५. मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । कतिपयले हरेक सफलतालाई समेत असन्तुष्टिको दलदलमा फसाइरहेका हुन्छन् । अरू कसैको देखासिकी र आरिस पनि असन्तुष्टिको कारक हो । प्लेटोले भने सन्तुष्टिलाई महत्वपूर्ण ढंगले प्रस्ट्याएका छन् । भन्छन्, ‘अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।’

६. मानिस शक्तिमा रहन चाहन्छ । सकेसम्म अरूलाई शोषण गर्न चाहन्छ र यसो गर्न सकेमा सन्तुष्टिको सास फेर्छ । तर, कहिल्यै अरूको सेवा गर्न चाहँदैन, पवित्र मनले मजदुर बन्न सक्दैन । जीवन सफल बनाउनका लागि प्लेटोको अर्को दर्शन हो, ‘जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन ।’



७. हामी सानामसिना कामलाई त्यति वास्ता गर्दैनौँ या भनौँ इन्कार नै गर्छौं । ठूल्ठूला काम मात्र मस्तिष्कमा बोकेर हिँड्छौँ र त्यसैअनुसारको महत्वाकांक्षा मनमा सजाउँछौँ । तर, प्लेटोको दर्शनले स–साना कामलाई पनि उत्तिकै महत्व दिएको छ । जुन जीवनका लागि निकै महत्वपूर्ण साबित हुन सक्छ । उनले भनेका छन्, ‘स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ ।

८. हामीले भविष्यको लक्ष्य कहिले निर्धारण गर्छौं ? यस विषयमा निकै रोचक दर्शन छ, प्लेटोको । आफ्नो सुरुवाती शिक्षाको समयमै मानिसले भविष्यको लक्ष्य निर्धारण गर्ने बताउँछन्, प्लेटो । शिक्षाअनुसार नै मानिसले आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्ने उनको भनाइ छ ।



९. कैयौँ मानिस आफ्नो जीवन र कामप्रति असन्तुष्टि हुन्छन् । कतिपय त आत्महत्या गर्नसमेत पछि पर्दैनन् । तर, प्लेटो भने जीवनलाई सुन्दर तरिकाले जिउन सुझाब दिन्छन् । भन्छन्, ‘जीवनलाई खेलजसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी ।’ यसो गर्दा मानिस सफल हुनका लागि प्रेरणा मिल्छ ।

१०. हामीले आफ्नो कुरालाई प्रमाणित गर्नका लागि कतिसम्म एउटै कुरा दोहोर्‍याउन सक्छौँ ? कहिलेकाहीँ त सही कुरा पनि कसैको बहकाउमा बोल्न सक्दैनौँ । तर, सुकरात भन्छन् कि राम्रो कुरालाई दोहोर्‍याउनका लागि कुनै झन्झट मान्नु हुँदैन ।

११. अरू दार्शनिक या महान् व्यक्तिले जस्तै प्लेटोले पनि आत्मविश्वासलाई ठूलो शक्तिका रूपमा वर्णन गरेका छन् । सफल मानिसमा आत्मविश्वासको ठूलो भूमिका रहने उनको भनाइ छ । भनेका छन्, ‘यदि विश्वासका साथ लडेमा हाम्रो शक्ति दुई गुणाले बढ्छ ।’

१२. प्लेटोले भनेका छन्, ‘महान् बन्न चाहेमा स्वयं आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ । जुन उचित लाग्छ त्यही काम गर्नुपर्छ, न कि अरूले भनेको काम गर्नुपर्छ ।’ उनले यो पनि भनेका छन् कि एक व्यक्ति एकैसाथ थुप्रै काममा सफल हुन सक्दैन ।

  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार २२:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया