उपराष्ट्रपति भएपछि ‘पासाङ’ पहिलोपटक थबाङमा

उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी सशस्त्र संघर्षका क्रममा जनसेना कमाण्डर थिए । र, उनलाई सबैले चिन्ने तथा बोलाउने नाम थियो ‘पासाङ’ । उनै ‘पासाङ’ उपराष्ट्रपति भएपछि पहिलोपटक तत्कालीन माओवादीको आधार इलाका थबाङ पुगेका छन् ।

आइतबार मन्त्री तथा सांसदहरूसहित थबाङ पुग्दा उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्थानीयले भव्य स्वागत गरेका थिए । स्थानीयबाट भव्य स्वागत हुँदा उपराष्ट्रपति पुन पनि निकै हर्षित देखिन्थे । ‘थबाङीसँग भेट्दा उहाँ निकै खुसी देखिनुहुन्थ्यो,’ थबाङका स्थानीय ऋषिकेशव बुढाले भने, ‘थबाङ उहाँको कर्मथलो हो । उहाँ उपराष्ट्रपति बन्नमा पनि थबाङीको कुनै न कुनै रूपमा योगदान छ ।’

हेलिकोप्टरबाट थबाङ पुगेका उपराष्ट्रपति पुनले आफ्ना पुराना सहकर्मीहरूसँग केहीबेर भलाकुसारीसमेत गरे । स्थानीय गिरिश पुनका अनुसार उपराष्ट्रपति पुनले थबाङको विकास, बदलिँदो राजनीतिक परिवेशलगायतका विषयमा जिज्ञासा राखेका थिए । 

जनयुद्धकै कारण गणतन्त्र सम्भव
उपराष्ट्रपति भएपछि सभा समारोहहरूमा निकै भद्र रूपमा प्रस्तुत हुँदै राजनीतिक विषयमा कमै मात्र बोल्ने उपराष्ट्रपति पुनले थबाङ पुग्दा भने आफूलाई थाम्न सकेनन् । थबाङलाई विचारको केन्द्रका रूपमा प्रस्तुत गर्दै उनले माओवादी जनयुद्धकै कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको दावी गरे । ‘सिंगो मुलुकका जनतालाई राजनीतिक अधिकारप्रति सचेत गराउन थबाङले खेलेको भूमिका अहम् छ,’ उनले भने, ‘अब भने थबाङले राजनीतिक मूलप्रवाहमा आफूलाई समाहित गरेर समृद्धि र विकासको अभियानमा अगुवाई गर्नुपर्छ ।’

बलभद्र मावि नमूना विद्यालय घोषित
उपराष्ट्रपति पुनले आफूले अध्ययन गरेको वीर बलभद्र माविलाई नमूना विद्यालयका रूपमा घोषणा गरेका छन् । उनले ३४ वर्षअघि सोही विद्यालयबाट एसएलसी गरेका थिए । घोषणासभामा बोल्दै उपराष्ट्रपति पुनले संविधानमा शिक्षालाई मौलिक हकका रूपमा उल्लेख गरिए पनि धनी र गरिब दुई वर्गले फरक–फरक शिक्षा अध्ययन गर्ने अवस्था कायम रहँदासम्म समाजमा द्वन्द्व, अशान्ति, भ्रष्टाचार र अनियमितता नघट्ने बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि सहभागी थिए । –नयाँ पत्रिकामा छापिएकाे समाचार ।





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १०:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया