कति छ विश्वमा सुन ? कुन देशसँग कति टन ?

काठमाडौं– नेपालीमा एउटा उखान छ– लंकामा सुन छ कान मेरो बुच्चै ! पौराणिक कालमा लंका अर्थात् हालको श्रीलंकालाई सुनको खानी नै मानिन्थ्यो । तर, अहिले विश्वमा कति जति सुन छ होला ? कहिल्यै अनुमान गर्नुभएको छ ?

सुनको बारेमा अध्ययन गर्ने संस्था ‘वल्र्ड गोल्ड काउन्सिल’का अनुसार अहिले विश्वका विभिन्न देशसँग भएको सुनको कुल परिमाण ३३ हजार ७ सय ४२ टन छ । काउन्सिलले, गत वर्षको तुलनामा विश्वका बैंकहरूमा १ हजार ४४ टन सुन थपिएको बताएको छ ।
 
सबैभन्दा धेरै सुन अमेरिकासँग

विश्वमा सबैभन्दा धेरै सुन अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकसँग छ । फेडसँग अहिले ८ हजार १ सय ३३ टन सुन रहेको काउन्सिलले बताएको छ । तर, फेडमा बितेको एक दशकमा एक तोला पनि सुन थपिएको भने छैन ।

यस्तै, जर्मनी सुनमा दोस्रो धेरै धनी देश हो । जर्मनीमा ३ हजार ३ सय ६९ टन सुन जम्मा रहेको छ । यस्तै, इटालीमा २ हजर ४ सय ५१ टन र फ्रान्स २ हजार ४ सय ३६ टन सुन रहेको गोल्ड काउन्सिलको तथ्यांक छ ।

पछिल्लो समय सुन थुपारिरहेको छ रुस 

पछिल्लो एक दशकमा रुसले भने सुन थुपारिरहेको छ । सेन्ट्रल बैंक अफ रसियन फेडेरेसनमा १० वर्षअघि ५ सय ३१ टन मात्रै सुन थियो । तर, अहिले अमेरिकापछि सबैभन्दा धेरै सुन थुपार्ने देश रुस बनेको छ । गोल्ड काउन्सिलका अनुसार अहिले रुसमा २ हजार १ सय १३ टन सुन सञ्चित रहेको छ । यस्तै, विश्व अर्थतन्त्रमा उदाउँदो चीनले पनि सुनको सञ्चिती बढाइरहेको छ । 



सन् २००९ मा करिब ६ सय टन सुन जम्मा गरेको चीनले त्यही वर्ष सुनको सञ्चिती बढाएर करिब दोब्बर बनायो । त्यसपछि सन् २०१४ सम्म स्थिर रहेको सुनको मात्रा अचानक २०१४ को मध्यमा १६ सय ५८ टन पुर्यायो । अहिले चीनसँग १ हजार ८ सय ५२ टन सुन रहेको गोल्ड काउन्सिल बताउँछ । 
अर्काे विकसित देश जापान पनि पछिल्लो एक दशकमा सुनको सञ्चितीमा फेरबदल गरेको छैन । जापानको केन्द्रीय बैंकसँग पछिल्लो दशकमा ७ सय ६५ टन सुन छ । 

भारतसँग ६ सय टन
 
दक्षिण एसियाको उदाउँदो देश भारतले पनि सुनको सञ्चिती वेला–वेलामा बढाइरहेको छ । सन् २००९ को सुरुमा ३ सय ५७ टन सुन रहेको भारतमा त्यही वर्षको अन्त्यमा ५ सय ५७ टन पुर्यायो । त्यसपछि स्थिर रहेको सुनको सञ्चिती सन् २०१८ मा बढाएर ६ सय टन पुर्याएको छ । 



नेपालमा ६ टन मात्रै
 
विश्वका विभिन्न देशले टनका टन सुन थुपारिरहँदा नेपालको केन्द्रीय बैंकमा भने अहिले ६ टन मात्रै सुन रहेको गोल्ड काउन्सिलको तथ्यांक छ । काउन्सिलका अनुसार सन् २००९ को सुरुवातमा नेपाल राष्ट्र बैंकसँग सुन नै थिएन । तर, त्यही वर्षको तेस्रो चौमासिकमा भने नेपालसँग १.४ टन सुन जम्मा भयो । 

सन् २०११ को अन्त्यमा नेपाल राष्ट्र बैंकले फेरि सुन थपेर १.७६ टन पुर्यायो । यस्तै, सन् २०१२ मा फेरि नेपालले सुन थप्यो र २.७ टन पुर्यायो । सन् २०१४ मा राष्ट्र बैंकले सुनको सञ्चिती बढाएर ३.६३ टन पुर्यायो । अर्काे एक वर्षमा केन्द्रीय बैंकले थप १.२४ टन सुन थपेर ४.८७ टन पुर्यायो । 

सन् २०१५ मा राष्ट्र बैंकले सुन थपेर ६.१२ टन पुर्यायो । २०१६ को अन्त्यमा नेपाल राष्ट्र बैंकसँग ६.४३ टन सुन रहेको थियो । सन् २०१७ मा भने राष्ट्र बैंकले सुनको सञ्चिती बढाएन । 

गत वर्ष २०१८मा भने नेपाल राष्ट्र बैंकले सुनको सञ्चिती बढाएर ६.५३ टन बनाएको छ ।

  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार ५:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया