ओझेलमा परेको एउटा सत्याग्रह

काठमाडौंको रत्नपार्कमा रहेको शान्तिवाटिकामा गत १७ गतेदेखि नुवाकोट ककनीका श्रीराम घिमिरेले सत्याग्रह सुरु गरेका छन् । २८ वर्षीय श्रीराम घिमिरे व्यवस्थापनका विद्यार्थी हुन् । युवा अवस्थाको सुरुवातदेखि आफू सामाजिक कार्यमा सक्रिय रहँदै आएको श्रीराम बताउँछन् । 

उनको यो सत्याग्रह केका लागि रहेछ भनेर हामीले बुझ्ने प्रयास गर्यौँ । हाम्रो जिज्ञासामा उनले भने, ‘देश लगातार रित्तिँदै छ । सबै बिदेसिँदै छन् । खेतीयोग्य जमिन बाँझै छ । देशमा चाँडै विकराल स्थिति सिर्जना हुँदै छ । यस्तो अवस्थामा राज्यले थोरै खेतीपाती गर्ने जमिन भएका कृषकलाई मल तथा बिउबिजन निःशुल्क गरिदिनुपर्छ । यसो भएमा कृषकलाई राहत हुन्छ र खेतीयोग्य जमिन यसै बस्दैन । अर्को कुरा नेपालबाट जति पनि युवायुवती रोजगारीको सिलसिलामा विदेशिएका छन्, उनीहरुको विदेशमा काम गर्दा मृत्यु भएमा अथवा कुनै गम्भीर घाइते भएमा राज्यले निःशुल्क उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ भन्ने मेरो माग हो ।’

यसो त श्रीरामले कतिसम्म जमिन भएका किसानलाई मल तथा बिउविजन निःशुल्क दिने भनेर पनि आफ्नो मागमा खुलाएका छन् । भन्छन्, ‘धेरै जमिन भएकालाई सरकारले व्यवस्था गर्न नसक्ला भनेर २० रोपनीभन्दा कम जमिन भएका किसानलाई यस्तो सुविभा दिनुपर्ने माग राखेको हुँ ।’ अनि विदेशी मुलुकमा काम गर्ने क्रममा मृत्यु भएकाको परिवारका लागि २० लाख क्षतिपूर्ति किन माग गरे त उनले ? यसमा उनको जवाफ थियो, ‘त्यति रकमले उसको परिवारले सानातिनो भए पनि व्यावसाय सुरु गर्न सकोस् भनेर हो ।’ आफूले सोचविचार गरेर, सत्याग्रहमा साथ दिने सबैसँग सल्लाह गररै यस्तो मापदण्डसहितको माग राखेको उनले बताए । 

श्रीरामको दाबी छ, म व्यक्तिगत मुद्दा लिएर अनशन बसेको होइन ।’ हामीसँगको भेटमा उनले यो कुरा पटक–पटक दोहोर्याइरहेका थिए । सबै नेपाली किसान र बेरोजगार युवाको मुद्दा आफूले बोकेर हिँडेको उनको दाबी छ । उनको हेरचाहमा नुवाकोटकै अर्का युवा लवकुमार घिमिरे खटिएका छन् । 

यो सत्याग्रहमा श्रीरामलाई श्रीमती दीपिका अधिकारीले पनि पूर्ण रुपमा साथ दिइरहेकी छिन् । दीपिका एक बोर्डिङ स्कुलमा शिक्षिकाको रुपमा काम गर्छिन् ।  
 
श्रीराम अनशन बसेको यो पहिलोपटक भने होइन । उनले पहिलोपटक ०७४ साल कात्तिक ११ गते यिनै दुईवटा माग राखेर नौ दिनसम्म अनशन बसेका थिए । तर, नौदिनसम्म पनि राज्यले वास्ता नगरेपछि बाध्य भएर अनशन तोड्नुपरेको उनको गुनासो थियो । दोस्रोपटक ०७५ फागुन २५ गतेबाट श्रीरामले सत्याग्रह सुरु गरेका थिए । यसपटक भने उनी एक्लै बसेका थिएनन् । उनलाई अरु केही साथीले पनि साथ दिएका थिए । तर, त्यसबेलाको सामूहिक सत्याग्रह पनि उनीहरुले तीन दिनमा तोडे । यसको कारण पनि उही पुरानै थियो, राज्यको बेवास्ता । 



यसपटकको सत्याग्रहमा पनि पुरानै नियति दोहोरिने हो कि भन्नेमा उनको चिन्ता छ । किनकि बिहीबार श्रीरामले अनशन सुरु गरेको ६ दिन भइसकेको छ । उनको स्वास्थ्यमा लगातार समस्या देखापर्दै गएको छ । तर, अहिलेसम्म सरोकारवालाहरु कसैले पनि उनको अनशनलाई ध्यान दिएका छैनन् । 

देशमा जुनसुकै तन्त्र आए पनि आमजनताको नियतिमा खासै परिवर्तन देखिन सकेको छैन । कृषिप्रधान देशमा खेतीयोग्य जमिन दिनानुदिन बाँझिने क्रम जारी छ । काम गर्ने जाँगर र ऊर्जा भएको जनशक्ति बिदेसिने क्रम रोकिनुको साटो झन्–झन् बढ्दो छ । देश रेमिटेन्सको भरमा चलिरहेको छ । 



यस्तो अवस्थामा एक युवाले जायज माग राखेर गरेको सत्याग्रहप्रति ध्यान दिने फुर्सद राज्यलाई छैन । राज्यले त सुनेन सुनेन, देश र जनताको बृहत्तर हितका लागि भनेर खोलिएका सरकारी तथा गैरसरकारी संस्थाहरु पनि यो अनशनबाट बेखबरजस्तै छन् । त्यसैले शान्तिवाटिकामा श्रीरामको सत्याग्रह गुमनाम छ । सरोकारवाला निकायको नजरबाट ओझेलमा छ ।

  • प्रकाशित मिति : फागुन २२, २०७६ बिहीबार १६:५८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया