पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट
तस्वीर: फरकधार ।

काठमाडौं— पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । 

जडिबुटीस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको हो । आज विहान भएको विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको प्रहरीले जनाएको छ । 

विस्फोटलगत्तै उक्त स्थानमा सर्वसाधरणको ठूलो भीड जम्मा भएको थियो । 

निर्माणाधीन घरको पर्खालभित्र बम राखिँदा पर्खाल भत्किएको छ । प्रहरीले यसबारे अनुसन्धान गर्ने बताएको छ । अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । तर, नेत्रविक्रम चन्द विप्लव समूहले यो विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । 

लोकन्थलीस्थित बाँस्कोटाको यो घर उनी यसअघि मन्त्रीमा नियुक्त भएसँगै बनाउन थालिएको थियो । पहिले एक तले रहेको घरमा दुई तला थपेर तीन तले बनाउने काम सुरु भएको थियो । मन्त्री भएलगत्तै गोकुल बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटमा रहेको घरमा बस्दै आएका छन् । अहिले पनि उनी बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा नै बस्छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन लिन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले सन्चारमन्त्रीबाट राजीनामा दिएका थिए । नेपालका लागि स्विस एजेन्टसँग उनले सेक्युरिटी प्रेस खरिद गर्दा आफूले ७० करोड कमिसन पाउनु पर्ने माग राखेका थिए ।



बुधबार विहान भएको विस्फोटपछि घटनास्थलमा जम्मा भएका सर्वसाधरणले बाँस्कोटाले भ्रष्टाचार गरेकाले यो आक्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । 

‘बाँस्कोटा खासमा प्रधानमन्त्रीका माइला छोरा हुन्,’ त्यहाँ भेला भएका एक सर्वसाधरणले फरकधारसँग भने, ‘अर्थमन्त्री युवराज खतिवडा जेठो छोरा हुन् । पछिल्लो समय उनको टेप सार्वजनिक भएपछि उनीप्रति धेरै रुष्ट भएका छन्, त्यही टेपको परिणामका कारण नै यो विस्फोट भएको हुनसक्छ ।’



  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार ९:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया