कोरोनाभाइरसः संक्रमितको संख्या २० लाख नाघ्यो

काठमाडौं– गत डिसेम्बरमा अन्त्यमा पहिलो पटक चीनको वुहान सहरमा मानिसमा देखिएको कोरोनाभाइरस अहिले विश्वका लागि सबैभन्दा ठूलो चुनौतिको विषय बनेको छ । बुधबार मात्र यो भाइरसका संक्रमित विश्वभर २० लाख नाघेका छन् । 

जोन हप्किङ्स विश्वविद्यालयको नयाँ तथ्यांकअनुसार यसमा ६ लाखभन्दा धेरै संक्रमित त अमेरिकाका मात्र छन् ।

अब विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ लाख २८ हजारभन्दा बढी भएको छ ।

विश्वविद्यालयले संक्रमितको संख्या अझ धेरै हुनसक्ने अनुमान गरेको छ । १० लाख नयाँ संक्रमित थपिएको चाहिँ अब दुई सातामात्र भएको छ । 

यो खासमा पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर चिकित्सकहरुले पहिचान गरेको भाइरस हो । त्यति बेला ३४ वर्षका सरुवा रोग विशेषज्ञ डा ली वेनलियाङले यसबारे आफ्ना सहकर्मी तथा विश्वका चिकित्सकहरुलाई यसबारे सन्देश पठाउन चाहेका थिए । 

तर, प्रहरीले उनलाई भेटेर अफवाह फैलाएको भन्दै चेतावनी दिएको थियो । 



३ जनवरीमा उनले यसबारे पहिलो रिपोर्ट लेखेका थिए । ‘मिस्ट्री भाइरस’ वुहानमा देखिएको उनले निष्कर्ष निकालेका थिए । त्यति बेला वुहानमा ४४ जनामा यो संक्रमण देखिएको थियो । यीमध्ये ११ जनाको अवस्था गम्भीर थियो । तर, कसैको पनि मृत्यु भएको थिएन ।

तर, यो भाइरसको प्रकृतिका कारण त्यहाँ सन् २००३ मा भउको सार्स प्रकोपको जस्तै अवस्था आउने अनुमान गरिएको थियो । सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए । 



१८ जनवरीसम्म वुहानमा मात्र कम्तिमा पनि ६० जनामा यो भाइरस संक्रमण देखिएको थियो । तर, विज्ञहरुले यसलाई १७ सय जनामा भाइरस देखिएको बताउँदै आएका थिए ।

त्यसको दुई दिनपछि मात्र जब मानिसहरु चिनियाँ नयाँ वर्ष मनाउन तयारी गर्दै थिए, यो भाइरस २ सयभन्दा बढीमा देखिइसकेको थियो । अनि वुहानबाट भाइरस बेइजिङ, शाङ्घाइ र शेन्जेनमा समेत देखिएको थियो ।

२३ जनवरीमा चिनियाँ सरकारले वुहानलाई लकडाउन गर्ने घोषणा गर्यो । त्यति बेलासम्म हुबेई प्रान्तमा मात्र १८ जनाको यो भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । अनि भाइरस चीनबाहिर ताइवान, जापान, थाइल्यान्ड, दक्षिण कोरिया र अमेरिकामा पनि देखिइसकेको थियो ।

यसको दश दिनपछि फिलिपिन्समा ४४ वर्षका एक व्यक्तिको निधन भयो । चीनबाहिर भएको यो पहिलो मृत्यु थियो । 

६ फ्रेबुअरीमा सुरुमा यो भाइरसबारे पत्ता लगाउने चिकित्सक डा। ली नै भाइरससामु आत्मसमर्पण गर्नु पर्यो, उनको मृत्यु भयो । 

त्यसको एक सातापछि ८० वर्षका एक पर्यटकको फ्रान्समा मृत्यु भयो । यो नै युरोपमा भाइरसका कारण भएको पहिलो मृत्यु थियो ।

त्यसको पाँच दिनपछि इरानमा भाइरस संक्रमण देखियो । दुई घन्टामा नै त्यहाँ दुई जनाको मृत्यु भएको समाचार आयो । त्यसपछि यो भाइरसको हटस्पटका रुपमा इरानलाई लिन थालियो ।

२३ फ्रेबुअरीसम्म आइपुग्दा युरोपेली मुलुक इटालीमा यो भाइरसका कारण निकै धेरै संक्रमित भेटिए । त्यहाँका १० सहरहरुलाई लकडाउन गरियो । १० मार्चमा इटालीमा यो लकडाउन देशभर जारी गरियो । 

२३ मार्चमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत बेलायतभर लकडाउनको घोषणा गरे । 

२६ मार्चमा आइपुग्दा अमेरिकामा सबैभन्दा धेरै भाइरस संक्रमित भेटिए । त्यो दिन त्यहाँ ८६ हजारभन्दा बढीमा भाइरस संक्रमण भएको पुष्टि भयो । २ अप्रिलसम्म आइपुग्दा त अमेरिकामा २ लाख १७ हजारभन्दा बढीमा भाइरस संक्रमण देखिएको छ । यो इटालीको भन्दा पनि दोब्बर हो । 

अहिले अमेरिकामा कोरोनाभाइरस संक्रमित र मृतक दुवैको संख्या विश्वका अरु देशको तुलनामा बढी छ । अमेरिकापछि इटाली र स्पेनमा कोरोनाभाइरसका कारण प्रभावित धेरै भएका छन् । 

अहिले विश्वका अधिकांश देशहरुमा कडा प्रतिबन्ध लगाइएको छ ।

  • प्रकाशित मिति : वैशाख ३, २०७७ बुधबार २०:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया