कोरोनाभाइरस जितेकी अंशु भन्छिन्– आत्मविश्वासले नै जितिन्छ कोरोनाभाइरस !

काठमाडौं– शुक्रबार राति बाग्लुङका लागि मात्र होइन, पश्चिम नेपालबाट पूरै नेपालीका लागि एउटा खुसीको खबर आयो– बाग्लुङमा १९ वर्षकी अंशु सापकोटाले कोरोनाभाइरसलाई जितिन् । केही दिनअघि मात्र बाग्लुङकै अर्की वृद्धाले पनि कोरोनाभाइरस संक्रमण जितेर घर फर्किएकी थिइन् । योसँगै अब बाग्लुङमा अब एक्टिभ कोरोनाभाइरस संक्रमित छैनन् । 

बेल्जियमबाट नेपाल आएकी अंशुमा चाहिँ १५ चैतमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी दोहा हुँदै नेपाल आएकी थिइन् । उनकै विमानमा आएका अरु पनि कोरोनाभाइरसबाट संक्रमित भएका थिए । 

१२ चैतमा उनले परीक्षणका लागि आफ्नो स्वाब दिएकी थिइन् । यसको नतिजा तीन दिनपछि आउँदा उनमा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको थियो ।

कोरोनाभाइरस संक्रमण भएलगत्तै उनलाई धवलागिरि प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । त्यहाँको आइसोलेसन वार्डमा गएलगत्तै उनले जे सोचेकी थिइन्, त्यसलाई शुक्रबार राति भनेकी छिन्, ‘सुरुमा कोरोनाभाइरस संक्रमण भएको छ भन्ने थाहा पाउँदा म आत्तिएकी थिएँ, के हुने हो, कसो हुने हो भन्ने लागेको थियो ।’ 

‘तर, अब कोरोनाभाइरसलाई जितेकी छु,’ शुक्रबार डिस्चार्ज भएपछि उनले भनेकी छिन्, ‘अहिले धेरै खुसी लागेको छ ।’

अंशुमा कोरोनाभाइरस संक्रमण भए पनि कोरोनाभाइरस संक्रमण भएपछि देखिइने कुनै लक्षण देखिएका थिएनन् । 



‘त्यही भएर पनि मलाई कोरोनाभाइरसलाई जितिन्छ भन्ने नै थियो,’ उनले भन्छिन्, ‘अब त मलाई कोरोनाभाइरस सामान्य रोग हो भन्ने लाग्छ, यसलाई सहजै जित्न सकिन्छ, आत्मविश्वास भएमात्र पुग्छ ।’

उनले कोही पनि कोरोनाभाइरस संक्रमितलाई नराम्रा शब्द नभन्न पनि नेपाली समाजसँग अनुरोध गरेकी छिन् । ‘रोग कसैले पनि जानीजानी बोकेर ल्याउने होइन,’ उनले भनेकी छिन्, ‘थाहै नपाई कोरोनाभाइरस संक्रमण हुनसक्छ । त्यसैले कसैले पनि कोरोनाभाइरस संक्रमितलाई नराम्रो शब्द नभनिदिनू होला !’ 
 



 

 

  • प्रकाशित मिति : वैशाख १३, २०७७ शनिबार ४:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया