बालुवाटारमा प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गर्दै सांसदहरुले भने– तपाईं नडगमाउनुस्, कसैले हटाउन सक्दैन

काठमाडौं– आज साँझ सचिवालय बैठक बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा शीर्ष नेताहरुबीचको ‘कलह’ थप बल्झिँदै गएको छ । फलस्वरुपः आज विहानबाट प्रधामन्त्री निवास बालुवाटारमा भेट भएका सांसदहरुले हस्ताक्षर संकलन गर्न थालेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी भएको भन्दै यो अभियान सुरु भएको हो । 

अर्कोतिर, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि सांसदहरुको हस्ताक्षर संकलन गर्न थालेको बालुवाटारमा रहेका एक सांसदले बताएका छन् ।

‘उहाँहरुले अस्तिदेखि नै हस्ताक्षर संकलन गर्न थाल्नु भएको हो भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘उहाँहरुले जे अभियानमा काम गर्न थाल्नु भएको छ, हामीले पनि त आफ्नो तयारी गर्न थाल्नु पर्यो ।’

उनका अनुसार साँझ बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन अन्य सचिवालय सदस्यले दबाब दिने तयारी गरेका छन् । 

‘त्यही भएर हामीले अध्यक्षज्यूलाई भनेका छौँ– तपाईं नडगमगाउनुहोस्, कसैले तपाईंलाई हटाउन सक्दैन,’ उनले फरकधारसँगको टेलिफोन सम्पर्कमा भने, ‘उस्तै परे संसदीय दलमा निर्वाचन नै गरेर पनि उहाँलाई हामी स्थापित गराउँछौँ, हिजो निर्वाचनमा उहाँकै नाम लिएर हामी चुनावमा होमिएका हौँ र उहाँकै नामका कारण जनताले हामीलाई भोट दिएका हुन् ।’

संसदीय दलमा निर्वाचन भएको खण्डमा आफूहरुसँग स्पष्ट बहुमत पुग्ने भएकाले पनि अहिलेको अरु नेताहरुले अवसर खोजेर गरेको यो प्रहारले कुनै फरक नपर्ने उनले बताएका छन् । 



मंगलबार साँझसम्म बालुवाटारमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई बोलाएर जस्तोसुकै अवस्थाको पनि सामना गर्न तयार रहन निर्देशन दिएका थिए ।

‘उहाँले हामीलाई त्यसो भन्नुभयो,’ ती सांसदले भने, ‘हामीले उहाँलाई तपाईं नडराउनुहोस्, हामी छौँ भनेका छौँ ।’



आज साँझ बस्ने भनिएको नेकपा सचिवालय बैठकले अहिले पार्टीमा भइरहेको विवादलाई एउटा निश्चित मार्ग प्रदान गर्ने अपेक्षा धेरैले गरेका छन् ।
 

 

  • प्रकाशित मिति : वैशाख १७, २०७७ बुधबार १५:४४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया