ओलीनिकट नेताहरुकाे निष्कर्ष– नतिजा आफ्नै पक्षमा छ

राजनीतिक दल विभाजन गर्न खुकुलो बनाउने हेतुले पार्टीमा सल्लाह नै नगरी अध्यादेश ल्याएपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अहिले पार्टीभित्र निकै ठूलो समस्यामा परेका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाललगायतले एउटा मोर्चा बनाएपछि दबाबमा परेका ओली आफू निकट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत काठमाडौं बोलाएका छन् । 

अनि दैनिक बालुवाटारमा आफू निकट नेताहरुसँग भेला गर्ने मात्र होइन, आफ्नो पक्षमा उभिन सांसदहरुलाई आफैंले फोन पनि गरिरहेका छन् । दुई दिनअघि बसेको सचिवालय बैठकमा त प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्षलाई भावी प्रधानमन्त्रीको प्रस्ताव मात्र गरेनन्, माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्न पनि प्रस्ताव गरिदिए । 

ओलीको यो प्रस्ताव खासमा उनको समूहमा चर्चा गरेर आएको उनीनिकट एक नेताले दाबी गरे । 

तर, ओलीको यो प्रस्ताव आएसँगै प्रचण्ड र नेपाल समूहका नेताहरुले यसलाई ओलीको ‘ललिपप’ भएको संज्ञा दिएका छन् । अब योसँगै उनीहरु यो प्रस्तावमा सहमत नहुने सम्भावना पनि बढेको छ । 

सबैभन्दा पहिले नेपाल र प्रचण्ड समूह पार्टीको स्थायी समिति बैठक तत्काल बोलाउनु पर्ने माग गरिरहेका छन् । तर, प्रश्नहरुसँग डराएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले यसलाई टार्ने पक्षमा छन् । 



प्रधानमन्त्री केपी शर्मा ओलीको समूहका नेताहरु भने अहिले ओलीलाई कुनै पनि हालतमा ‘नडगमगाउन’ सल्लाह दिइरहेका छन् । 

‘जनताले म्यान्डेट दिएर पठाएको र पार्टीका लागि लामो समय कसरत गरेर महाधिवेशनबाट निर्वाचित व्यक्ति डराउनु पर्ने कुनै कारण नै छैन,’ शुक्रबार अबेर साँझ पनि बालुवाटारमा नै रहेको नेकपाका एक नेताले भने, ‘त्यसमाथि उहाँले पार्टीको भविष्यका लागि त्याग गर्न तयार भएको सन्देश दिइसक्नु भएको छ । यस्तो अवस्थामा उहाँ डराउने भनेको एउटै कारण हो– दुःख गरेर यो स्थानमा ल्याएको पार्टीको भविष्य ।’



उनले शुक्रबार भएका भेटघाटमा अन्य सांसदहरुले पनि प्रधानमन्त्री ओलीकै पक्षमा जनलहर र अधिकांश सांसदहरु भएकाले पार्टीमा अहिले अप्ठ्यारो पार्न खोजिएकोबाट प्रधानमन्त्रीलाई नआत्तिन सल्लाह दिएको बताए । 

‘नतिजा भनौँ या यसको परिणाम भनौँ,’ उनले भने, ‘हाम्रै पक्षमा भएको हामी सबै जना कन्भिन्स्ड छौँ ।’
 

  • प्रकाशित मिति : वैशाख १९, २०७७ शुक्रबार २१:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया