सात दिनका लागि कर्णाली सिल, पैदलयात्रीलाई पनि निषेध

कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको छ। छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सात दिनका लागि प्रदेश सरकारले सिल गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमा नाका सिल गर्नुका साथै २७ स्थानमा मेडिकल मार्च अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। 

सामाजिक विकास मन्त्री दल रावलले अत्यावश्यक (एम्वुलेन्स र रेफर गर्नुपर्ने विरामीले प्रयोग गरेका सवारी–साधन)बाहेकका कुनै सवारी साधनहरु कर्णालीमा प्रवेश नदिइने बताए। 

‘छिमेकी प्रदेशहरुमा कोरोना संक्रमणका विरामीहरु बढेकाले कर्णालीलाई सुरक्षित राख्न सात दिनका लागि दक्षिणका सबै सीमा नाका सिल गर्ने निर्णय भएको हो,’ मन्त्री रावलले भने, ‘सीमासम्म आइपुगेका कर्णालीका नागरिकहरुलाई पनि सोही ठाउँमै क्वारेन्टाइन निर्माण गरेर राख्छौं।’ प्रदेश सरकारले कर्णाली प्रवेश गर्ने मुख्य नाका बबईमा एक सय बेडको क्वारेन्टाइन निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ।

प्रदेश सरकारले दक्षिणबाट हिँडेर आउनेहरुलाई पनि प्रदेशमा भित्रिन नदिनका लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ। बर्दियासँग सीमा जोडिएको बबई, दाङसँग सीमा जोडिएको सल्यानको कपुरकोट, सुदूरपश्चिमसँग सीमा जोडिएको कैलालीको कुइने नाकामहरुमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि विपद् व्यवस्थापन परिषद्ले गरेको छ।





  • प्रकाशित मिति : वैशाख २२, २०७७ साेमबार १९:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया