सीमामा रहेका नेपाल प्रहरीमाथि भारतीयकाे आक्रमण प्रयास

कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । 

एक सय ५० जनाभन्दा बढीको संख्यामा भारतबाट आएकाले झापा गाउँपालिकास्थित १३१/१ नम्बर पिल्लनजिकै बसेको सशस्त्र प्रहरीको क्याम्पमा आक्रमणको प्रयास गरेका हुन् । उनीहरू घरेलु हतियार भाला, खुर्पा तथा लठ्ठीसहित आएको उक्त क्षेत्रमा खटिएका एक प्रहरीले बताएका छन् ।

आक्रमणको प्रयास गरेपछि सशस्त्र प्रहरीले दुई राउन्ड हवाईफायर गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । हवाईफायरपछि उनीहरू तितरबितर भएर मकैबारीमा लुकेका थिए । प्रहरीका अनुसार सुरुमा दुईजना भारतीय युवा बाइकमा नेपाल प्रवेश गर्न खोजेका थिए ।

नेपालतर्फ खेती लगाएका उनीहरूले सोमबार साँझ साढे पाँच बजेतिर प्रहरीलाई बारीमा मकै पाकेको भन्दै उठाउन दिन आग्रह गरे । तर, १३१ मा रहेका तीनजना नेपाल प्रहरीको टोलीले नेपाल प्रवेश गर्न दिएन । लामो समय सम्झाएपछि उनीहरू भारततिर लागे ।

‘पछि फेरि उनीहरू ठूलो संख्यामा घरेलु हतियारसहित आएपछि सुरक्षाकर्मी अलिकति पछि हटे,’ राईले भने, ‘उनीहरूले आक्रमण गर्न खोजेपछि भने हवाईफायर भयो । अहिले आन्तरिक सुरक्षाका लागि प्रहरी संख्या त्यहाँ बढाएका छौँ ।’ त्यहाँ अहिले भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरेर दुवैतर्फ सुरक्षा कडा बनाइएको उनले बताए ।





  • प्रकाशित मिति : वैशाख २३, २०७७ मंगलबार ३:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया