फेरि बढ्यो प्रचण्ड–ओली दूरी, ओलीले सम्झौता पालना नगरेको प्रचण्ड पक्षको आरोप
फाइल तस्वीर ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय देखिएको विवाद तत्काल साम्य नहुने संकेत देखिएका छन् । यसअघि शनिबार भएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचना गरेपछि पार्टीमा देखिएको विवाद साम्य हुने सम्भावना बढ्दै गएको थियो । 

त्यस दिन सचिवालय बैठकअगाडि प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमलाई छुट्टाछुट्टै भेट गरेका थिए ।

यही दुई भेटका कारण तत्काल पार्टीको विवाद साम्य भएको ‘मेसेज’ नेताहरुले बाहिर दिएका थिए । त्यही दिन पार्टीको २५ गतेबाट बोलाइएको स्थायी समिति बैठकमा प्रस्ताव लैजानका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव लेख्न दिइएको थियो । उनीसँगै यो जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका थिए । 

तर, अहिलेसम्म यो प्रस्ताव लेखनको काम अगाडि नबढेको प्रचण्डनिकट एक नेताले बताएका छन् । ‘किनकि यसमा पार्टी अध्यक्षहरुको राय मिलेको छैन,’ उनले फरकधारसँग भने, ‘अध्यक्ष ओलीले आफूले पालना गर्छु भन्ने सम्झौताबाट पछाडि हटेपछि यो लेखन प्रस्ताव अहिले अड्किएको हो ।’ 

प्रस्तावमा एक व्यक्ति एक पदको विषय लेख्ने र स्थायी कमिटी बैठकमा यसबारे छलफल गरिने सम्झौता भएको प्रचण्ड पक्षको दाबी छ । तर, यसमा फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् । 

‘त्यसैले यसमा काम अगाडि बढ्न सकेको छैन,’ ती नेताले भने, ‘यसले गर्दा पार्टीमा फेरि विवाद निम्तिने हो कि भन्ने डर सुरु भएको छ ।’





  • प्रकाशित मिति : वैशाख २४, २०७७ बुधबार ५:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया