संसद्‌मा गगन थापाले सुनाएकाे कविता– म त भाग्यमानी

कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्रीले लकडाउनका कारण अलपत्र मजदुर तथा लिपुलेकमा भारतले सडक बनाएको बारे प्रधानमन्त्रीले चासो नदिएको भन्दै संसद्‌मा कविता सुनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति समर्पित गरेको भन्दै उनले ‘म त भाग्यमानी’ शिर्षकको कविता सुनाए । उनले कवितामा पछिल्लो समय प्रधानमन्त्री ओली साहित्य सिर्जनामा लागेको र आँसुकवि भएको भन्दै व्यङ्ग्यसमेत गरे ।

 

म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको



यस्तो सबल सरकार छ सीमा कसले मिच्ने ?

कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने



 

सयौं कोश हिँड्दा पनि छैनन् श्रमिक आहत

गरिबलाई सम्मान छ सरकारबाट राहत

विदेशमा कोही पनि अलपत्र छैनन्

दु:ख पीडा सुनाउने ती नेपाली नै होइनन्

 

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति

हावादारी हल्ला हुन् ओम्नी र यति

 

सबैतिर वाहवाह यस्तो विकास देख्दा

पत्रकार नि दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री, आँसुकवि हाम्रा

दिन नबिराई सिर्जना छ आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाउँला

 

साह्रा नेपाल हाँसेको छ मेचीकाली गाउँछ

आँसु आए बरु त्यही गीतले आउँछ

यस्तो नायक गजबका ल्यायौं जानीजानी

अहो हामी नेपाली त साह्रै भाग्यमानी

अहो साह्रै भाग्यमानी

म त साह्रै भाग्यमानी

  • प्रकाशित मिति : वैशाख २९, २०७७ साेमबार १४:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया