प्रदेश ५ मा ३२ जना काेराेना संक्रमित निकाे भए

प्रदेश नं. ५ मा कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्कन थालेका छन् । बुटवलको धागो कारखानामा संचालित कोभिड अस्पतालबाट शनिबार साँझ १० जना संक्रमित निको भएर घर फर्केका हुन । उनीहरु सबै कपिलवस्तुका हुन ।  

दुई साताअघि संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको लगातार दुई पटकको परीक्षणमा कोरोना भाइरस नदेखिएपछि अस्पतालबाट डिस्चार्ज दिइएको अस्पतालका डा. सुदर्शन थापाले बताए । ‘पछिल्लो दुइ पटकको पीसीआर रिपोर्टमा नेगेटिभ आएपछि घर पठाएका हौं’ डा. थापाले भने । संक्रमितहरुलाई निको बनाएर घर पठाउन पाउदा खुसी लागेको र यसले सकारात्मक सन्देश दिने डा. थापाले बताए ।  

यसअघि रुपन्देहीकै पहिलो कोरोना संक्रमित पनि सोही अस्पतालबाट निको भएर घर फर्किसकेका छन् । आत्मविश्वास बलियो हुने र स्वास्थ्य प्रति सचेत रहने व्यक्तिले कोरोनालाई सजिलै परास्त गर्न सक्ने डा. थापाले बताए । डा. थापाले सकेसम्म दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन र संक्रमण देखिहाले पनि नआत्तिन सबैलाई अनुरोध गरेका छन्  ।  

कपिलवस्तुका ३६ जनाको उपचार भइरहेकोमा दश जना निको भएर घर फर्केपछि त्यहाँ अहिले रुपन्देहीका संक्रमितलाई ल्याइएको छ । अस्पतालमा बेड अभाव हुँदा यसअघि संक्रमण पुष्टि भएका कपिलवस्तु र रुपन्देहीका संक्रमितलाई क्वारेन्टिनमै राखिएको थियो । ‘बेड खाली भएपछि रुपन्देहीका १० जनालाई ल्याइसकेका छौ’ डा. थापाले जानकारी दिए । बुटवलको कोभिड अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ ।

यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर कोभिड अस्पतालबाट २१ जना निको भएर घर फर्केका थिए । अहिले सम्म प्रदेशमा ३२ जना संक्रमित निको भइसकेका छन् । प्रदेशमा देखिएका संक्रमित मध्ये अधिकांशमा कुनै लक्षण तथा स्वास्थ्य समस्या नदेखिएकाले निको भएर फकर्नेहरुको सख्या बिस्तारै बढ्दै जाने सम्बन्धित अस्पतालका चिकित्सकहरुले बताएका छन् । प्रदेशमा अहिले सम्म २ जना संक्रमितको मृत्यु भएको छ । शनिबार साँझसम्म प्रदेशमा संक्रमितको सख्या २ सय ७१ छ ।  





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १३:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया