जाेखिम बढ्याे तर किट छैन

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न  किटको अभाव  भएको छ। यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो। किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।  

जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन, उनले भने, प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन। आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन। 

उनले आरडिटी र भिटिएम दुवै किट नहुँदा परीक्षणको काम पूर्णरुपमा रोकिएको जानकारी दिए।  नगरपालिकामा हाल १६० जना क्वारेन्टिनमा रहेका छन्। भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टिनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए।  नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताएका छन्। उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताएका छन्।

त्यस्तै सङ्क्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ। सङ्क्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए। 

उनले दिनप्रतिदिन सयौँको सङ्ख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताएका छन्। स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टिनमा बसेकाको  समय पुगिसकेको पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताएका छन्। जानकी गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ।

भजनी नगरपालिकामा पनि किटको अभाव देखिएको छ। नगरपालिकामा किट नहुँदा क्वारेन्टिनको समय पुगेकाहरुलाई होम क्वारेन्टिनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले बताएका छन्। मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको तर किट प्राप्त गर्न नसकिएको जानकारी दिए। 



उनले नगरपालिकाले किट खरिदका लागि पहल गर्दा एक किटको मात्र एक हजार १०० रुपैयाँ पर्ने भनेपछि नगरपालिकाको स्रोतले किट खरिद गर्न नसकिने बताए। नगरपालिकामा १५० भन्दा बढी मानिस क्वारेन्टिनमा रहेका छन्। भारतसँग सिमाना जोडिएको लालभोजी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरुको व्यवस्थापन गरिएको छ।

जोसिपुर गाउँपालिकामा समेत आरडिटी र भिटिएम किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए।  



  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १८:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया