लाेप हुँदैछन् असला माछा

असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन्। यहाँका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने लोपोन्मुख असला माछा पाउन छाडेको जलारीहरु बताउँछन्। पहिले निकै खोलामा पाउने र ग्राहकले खोलाबाटै लैजाने गरेको भए पनि अहिले ती माछा लोप हुँदै गएको उनीहरुको अनुभव छ।

लोपोन्मुख असला माछा खोलामा नहुने र अन्य माछा पनि कम हुँदै जाँदा आफूहरुको पेशा सङ्कटमा परेको जलारीहरुको गुनासो छ। पहिलेपहिले जाल खेल्दै जाँदा पाँच/छ पटकमा आफ्नो फुर्लुङ भरिने र अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा बनाउन मुस्किल हुने भैरवी गाउँपालिका–१ का दीपक कार्कीले अनुभव सुनाए।

छामघाट खोलामा ३० वर्षदेखि जाल हान्दै माछा मार्ने कार्की अहिले असला माछा पाउन छाडेको बताउँछन्। केही महिनायता खोलामा विष हाल्ने र करेन्ट लगाउने कारणले पनि असला माछा पाउन छाडेको उनको भनाइ छ। छामघाटखोला मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको छ। स्थानीय सरकारले जल गुरुयोजना तयार गरी खोलाका माछा अवैधरूपमा मार्न रोक लगाए पनि विष हाल्ने र करेन्ट लगाउने काम रोक्न सकिएको छैन।  

भैरवी र माहाबू गाउँपालिकाले प्रहरी परिचालन गरी त्यस क्षेत्रमा रहेको छामघाट खोलामा विष हाल्न र करेन्ट लगाउन प्रतिबन्ध लगाएको छ तर लकडाउनमा यी कार्य नरोकिँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख असला माछा र माछा मार्ने व्यवसायीमा परेको छ। लकडाउन अघिसम्म त्यस्ता गतिविधि नियन्त्रण गर्न दुई गाउँपालिकाको समन्वयमा छामघाट खोलामा रहेको खोली बजारमा अस्थायीरूपमा प्रहरी परिचालन गरिएको थियो।

“दुई गाउँपालिकाको सिमानामा बग्ने छामघाट खोलामा अवैधरूपमा माछा मार्ने कार्य रोक्न प्रहरी परिचालन गरेका थियौँ, अहिले बाध्यताले उनीहरुलाई यो महामारीमा पालिका मुकाम केन्द्रित गर्नुप¥यो, अहिले फेरि विष हाल्ने र करेन्ट लाउनेहरुको सङ्ख्या बढेको सूचना आएको छ”, भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले बताए।  

खोलामा विष हाल्दा र करेन्ट लगाउँदा अधिकांश माछा मरेर जाने र बचिहाले नपुंसक हुने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए। जिल्लाभरि एक दर्जनभन्दा बढी साना तथा ठूला खोलामा माछा पाइने भए पनि लोपोन्मुख असला माछा भने छामघाट खोला, लोहोरे खोला र रामघाट खोलामा बढी मात्रामा पाइन्छ। 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार ११:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया