लिगलिडर लिभरपुल बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिगलिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा दुबैले गोलरहित बराबरी खेलेका हुन् ।

खेलको अधिकांश समय बल पोसेसनमा राखेता पनि लिभरपुलले गोल गर्न भने सकेन । खेलमा दुबै टोलीले केही राम्रा अबसर खेर फालेका थिए ।

खेलको १० औं मिनेटमा घरेलु टोलीका टिम डेविसले पाएको राम्रो अवसरको सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

त्यस्तै खेलको ४१ औं मिनेटमा लिभरपुलका एलेक्जेन्डर आर्नोल्डको प्रिकिक प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्टले उत्कृष्ट बचाउ गरेका थिए ।

बराबरीसँगै लिभरपुल ३० खेलबाट ८३ अंकको साथमा शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ३८ अंक जोडेको एभर्टन १२ औं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा न्युक्यास्टल युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ३– ० को प्रभावसाली जित निकाल्दा चेल्सीले पनि एस्टोन भिल्लालाई २ –१ ले पराजित गर्यो ।



न्युक्यास्टलले घरेलु  मैदान सेन्ट जेम्स पार्कमा जित निकाल्दा एलान सेन्ट म्याक्सिमिम, म्याट रिचे तथा जोलिन्टोनले १ –१ गोलको योगदान दिए ।

जितँंगै न्युक्यास्टल ३० खेलबाट ३८ अंकको साथमा १३ औं स्थानमा छ भने पराजित सेफिल्ड ४४ अंकको साथमा ७ औं स्थानमा छ ।



घरेलु मैदान भिल्ला पार्कमा चेल्सीविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा  एस्टोन भिल्लाले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

खेलको ४३ औं मिनेटमा कोर्तने हउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६० औं  मिनेट क्रिस्टियन पुलिसिकले चेल्सीलाई बराबरीमा ल्याएका थिए भने ६२ औं मिनेटमा ओलिभर जिरुडले  अग्रता दिलाएका थिए ।

जितसँगै  ३० खेलबाट ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा पराजय भोगेको एस्टोन भिल्लाको भने रेलिगेसनको खतरा बढेर गएको छ । उसले ३० खेलमा मात्र २६ अंक जोडेकाले १९ औं स्थानमा छ । 
 
 

  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार ७:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया