के फेरि मिल्न लागेका हुन्, विवेकशील र साझा ?

काठमाडौं– आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा दाबी गदै आएका साझा पार्टी र विवेकशील नेपाली दलबीच एकपटक एकता भएर विवेकशील साझा पार्टी बन्यो । २०७४ साउनमा दुई पार्टीबीच एकता भए पनि उनीहरुको एकता डेढ वर्ष पनि टिकेन । अहिले फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।

उज्ज्वल थापाको नेतृत्वमा २०७५ पुसमा पार्टी फुटेर पुनः पुरानै विवेकशील पार्टी बन्यो । अहिले सो पार्टीको अध्यक्षमा मिलन पाण्डे छन् । पाण्डे पार्टीको महाधिवेशनमा जितेर अध्यक्ष बनेका हुन् । साझा पार्टीको संयोजकमा भने सुरुदेखि नै रविन्द्र मिश्र छन् ।  

दुई पार्टीबीच फेरि एकताको प्रयास भएको हो । साझा पार्टीले गत फागुनमा लुम्बिनी भेलामार्फत मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि विवेकशील नेपाली दलसँग पार्टी एकताका लागि अनौपचारिक संवाद थालेको थियो ।

आइतबार भने सो पार्टीले एकताका लागि संवाद समिति नै गठन गरेको छ । यद्यपि, प्रवक्ता सूर्यराज आचार्य र सचिवालय सदस्य मुमाराम खनाल भने एकताप्रक्रियामा असन्तुष्ट देखिएका छन् । उनीहरु आइतबारको बैठकमै उपस्थित भएनन् । खनाल र आचार्यसहितका नेताले आफूहरूको व्यक्तित्वभन्दा पार्टी सानो भएको भन्दै ठूलो पार्टी बनाउने अभियानमा लाग्न पार्टीका संयोजक मिश्रलाई आग्रह गरेका छन् । 

विवेकशील नेपाली दलले पनि यसअघि नै पार्टी एकता कार्यदल गठन गरिसकेको छ । पार्टीका महासचिव निर्देश सिलवालको संयोजकत्वमा रञ्जु दर्शना र प्रदेशसभा सदस्य रमेश पौडेल सदस्य रहेको कार्यदललाई वार्ताको जिम्मा दिइएको छ । 

आइतबार साझा पार्टीले पनि कार्यदल बनाएपछि दुई दलबीच एकता प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार २०:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया