के नेकपामा माधव नेपाल गाँठो फुकाउन सफल होलान् ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद सामान्य तरिकाले समाधान होला भन्ने अनुमान गर्न अझै कठिन भएको छ । विशेषगरि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेका बारम्बार बैठकमा कुनै निष्कर्ष निस्किन सकेको छैन । बुधबार यी दुई नेताबीच भएको ३ घन्टे लामो छलफलले पनि कुनै निष्कर्ष निकाल्न सकेन । 

स्थायी कमिटी बैठक स्थगन गरेर भइरहेका यी छलफलहरु कुनै निष्कर्षमा पुग्न नसकेपछि भोलि बिहीबारका लागि तय भएको दुई अध्यक्षको बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् । 

पार्टीमा जेलिएको गाँठो फुकाउन के माधव नेपाल सफल होलान् त ? 

यसका लागि केही बुँदाहरुमा पहिले चर्चा गर्नु पर्ने हुन्छ । सबैभन्दा पहिले बुझ्नु पर्ने कुरा के हो भने अहिलेको विवादमा नेपाल र प्रचण्ड एउटा पक्षमा छन् भने अर्को पक्षमा ओली छन् । त्यसैले भोलि यी तीन नेताबीच हुने छलफलमा पनि ओलीलाई एक्लो महसुस हुनेछ र तत्काल उनीहरुबीच सहमती निस्किएला भन्ने अनुमान गर्न कठिन हुनेछ । 

तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर नेकपा बनेपछि धेरैको अनुमान थियो– अब ओली र नेपाल मिल्नेछन् । त्यति बेला अनुमान गरिएको थियो, नेकपामा एमाले धार र माओवादी धार भएर दुई कित्तामा नेताहरु उभिनेछन् । 

तर, समयक्रममा यो धार देखिएन । बरु पहिले एमालेमा भएका केही नेताहरु प्रचण्ड नेतृत्वमा आफूलाई सहज पाउन थाले भने केही तत्कालीन माओवादी नेताहरुले आफ्नो क्याम्प फेरेर प्रधानमन्त्री ओलीलाई समर्थन गर्न थाले । 



यो एकतापछि जे सोचिएको थियो, त्यो भएन । जे हुँदैन होला भन्ने सोचिएको थियो, घटनाक्रमहरु त्यतातिर उन्मुख भइरहेका छन् । यसका लागि प्रधानमन्त्री ओली गत वर्ष सिंगापुर उपचारका लागि जाने समयको प्रसंगलाई सम्झिँदा हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने समयमा बालुवाटारमा भएको सचिवालय बैठकमा माधवकुमार नेपालले उनलाई स्वास्थ्यलाभको कामना गरेका थिए । तर, ओलीले त्यो स्वास्थ्यलाभको कामनालाई निकै रुखो तरिकामा अस्वीकार गरिदिए । फलतः नेपाल र ओलीको सम्बन्धमा थप दरार उत्पन्न भयो । यही दरारलाई सहजै र निकै चलाखीका साथ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पक्षमा पार्न भूमिका खेले ।

अहिले नेपाल र प्रचण्ड त्यसैले हरेक गतिविधिमा एकसाथ उभिएका छन् । 



तर, गत वैशाखमा नेकपामा देखिएको विवादमा अन्तिममा प्रचण्ड र ओलीबीच सहमती भयो । दुवैले आत्मोलचना गरे । अनि त्यति बेला माधवकुमार नेपालले प्रतिक्रिया दिए– दुई अध्यक्षको चोचोमोचो सह्य छैन । नेपालको यो प्रतिक्रिया त्यति बेला खासै ठूलो इस्यूको रुपमा प्रचण्डले लिएनन् । फेरि यो विवाद मिल्नुमा त्यति बेला चिनियाँ राजदूत होउ यान्छीको सक्रिय भूमिका रहेको पनि बाहिर चर्चामा आएको थियो । 

अब नेकपा २ साउनका लागि बोलाएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा छ । त्यसैले बिहीबार दुई अध्यक्षको वार्तामा माधवकुमार नेपाल पनि बस्दै छन् । तीन पटक स्थगित भइसकेको नेकपा स्थायी कमिटी बैठक २ साउनमा बस्ला या नबस्ला भन्ने एकिन भोलि यी तीन नेताबीच हुने बैठकले तय गर्नेछ ।

यतिबेला वैशाखमा भएको विवादभन्दा अलिक फरक सिनारियो नेकपामा देखिएको छ । त्यतिबेला ओलीइतर पक्षले ओलीसँग एक पदबाट मात्र राजीनामा मागेको थियो । तर, अब उनीहरु ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् । र, प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि पदबाट राजीनामा दिने मुडमा छैनन् । 

विवादको चुरो गाँठो नै यही हो ।

यसलाई अहिले थप कसिरहेका छन्, माधवकुमार नेपालले । किनकि उनले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका छन् । यसअघि यी दुईबीच को प्रधानमन्त्री हुने भन्ने विषयमा टुङ्गो लागिसकेको थिएन । र, यही कुराले प्रधानमन्त्री ओलीको वाचामा उनीहरु विश्वास गरेर सचिवालय बैठकबाट बाहिरिएका थिए ।

त्यसैले बिहीबार हुने भनिएको यी तीन नेताको बैठक निकै महत्वपूर्ण मानिएको छ । 

‘तर, बैठक सकारात्मक हुनसक्ने सम्भावना निकै कम छ,’ नेकपामा ओलीनिकट एक नेताले फरकधारसँग बुधबार अबेर साँझ भने, ‘किनकि दुवै पक्ष आफ्नो अडानबाट टसमस भएका छैनन् । बरु फेरि प्रचण्ड यसअघि भएको दुई जना आलोपालो प्रधानमन्त्री हुने विषयमा कुरा निकालिरहेका छन् ।’

उनले थपे, ‘अनि माधवकुमार नेपाल पनि ओलीको शक्ति कम गर्नकै लागि किन नहोस्, प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा पुगिसकेका छन् । यसले विवाद अहिले नै साम्य होला भन्ने अनुमान गर्न अलिक समस्या भएको छ । के पनि सही हो भने पछिल्ला केही वार्ताहरु सकारात्मक हुँदै गइरहेका छन् ।’

अहिले जेमा नेकपा जेलिएको छ, त्यसका लागि माधवकुमार नेपालको ‘मुभ’ निकै महत्वपूर्ण हुने उनको ठम्याइ छ ।

  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार २३:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया