प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव राखे– महाधिवेशन मंसिरमा गरौँ, अलमलमा प्रचण्ड–नेपाल

पछिल्लो समय जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा नयाँ ट्विस्ट आएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय सदस्यहरुसँग राखेको नयाँ प्रस्तावले नेकपामा नयाँ ट्विस्ट सिर्जना गरेको हो । 

शनिबार अबेर साँझ बालुवाटारमा सकिएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुसँग अब महाधिवेशन छिट्टै गर्ने प्रस्ताव अगाडि सारेका छन् । 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीसँग पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग गरिरहेका छन् । 

तत्काललाई यो मागलाई पन्छाउन ओलीले नयाँ तुरुप प्रयोग गरेका हुन् ।

ओलीको नयाँ प्रस्ताव हो– पार्टीको महाधिवेशन मंसिरमा गरौँ । 

यसअघि यो महाधिवेशन यो वर्षको अन्त्यमा गर्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले अहिले आफूले दुवै पद छोड्न नहुने भन्दै सचिवालय बैठकमा यो प्रस्ताव ल्याएका हुन् । 



सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको यो प्रस्ताव आउला भन्ने सायदै प्रचण्ड–नेपालले अनुमान गरेका थिए । उनीहरुले अनुमान गरेभन्दा फरक प्रस्ताव आएपछि उनीहरुले यसबारे कुनै कुरा सचिवालय बैठकमा नगरेको र छलफल गर्न सकिने बताएको एक सचिवालय सदस्यले फरकधारलाई जानकारी दिएका छन् ।

तर, आज बसेको बैठकमा नेकपा नेता नेपालले प्रधानमन्त्री ओलीले बारम्बार नयाँ प्रस्ताव ल्याउने तर कार्यान्वयनमा नजाने भन्दै यसको आलोचना गरेका थिए । ‘यसअघि प्रस्ताव आएका मात्र होइनन्, सधैं भइसकेका सहमती पनि कार्यान्वयन भएका छैनन्, पालना भएका छैनन्,’ बैठकमा नेपालको कुरालाई उद्धृत गर्दै ती नेताले भने, ‘त्यसैले यसबारे अहिले छलफल गर्न आवश्यक छ । यो उधारो सहमतीमा सम्झौता गर्दा बारम्बार पार्टीमाथि धोका भइरहेको छ ।’



  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार २०:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया