लकडाउन खुलेपछि खेलाडीको उत्साह, ‘अब राष्ट्रिय टिमको प्रशिक्षणमा फर्कने छौं’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपाल सरकारले लगाएको लकडाउन १२० पछि अन्त्य भएको छ । सरकारले गत ११ चैत्रबाट लगाएको लकडाउन मङ्गलबार राति १२ बजेबाट अन्त्य भएको घोषणा गरेको हो ।

नेपाली खेलाडीहरुले लकडाउनभन्दा अगाडिदेखि नै खेल्न पाएका थिएनन् । कोरोनाको बढ्दो जोखिमका कारण सरकारले फागुन अन्तिम सातादेखि खेलकुदका सबै गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।

लकडाउनको अन्त्यसँगै सरकारले आगामि भदौ १ बाट खेलाडीहरुलाई प्रशिक्षण गर्ने अनुमति पनि दिएको छ । तर खेलाडीहरुले कोरोनाको जोखिम कम नभएका कारण केही सावधानी भने अपनाउनु पर्नेछ ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बनाउने मापडण्डअनुसार खेलाडीहरुले प्रशिक्षणमा फर्कन पाउने भएका छन् ।

यो निर्णयबाट लामो समयम्म खेलबाट डाढा भएका खेलाडीमा उत्साह छाएको छ । तत्कालै कुनै प्रतियोगिता नभएता पनि प्रशिक्षणमा मात्रै फर्किन पाउनुले पनि खुसीको दिएको उनीहरुको धारणा छ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबका म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई भने लकडाउनले प्रशिक्षणमा कुनै बाधा गरेन । उनीलगायत सागमा स्वर्णपदक विजेता खेलाडीलाई हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालयमा नै खटाइएपछि विहान बेलुका समय मिलाएर प्रशिक्षण गर्ने अवसर मिल्यो ।



सरकारले प्रशिक्षण गर्ने अनुमति दिएपछि निकै उत्साह जागेको उनले बताउँछन् ।

‘हुन त मलाई यो लकडाउनले कुनै दिन पनि प्रशिक्षण गर्न रोकेन । तर अन्य साथीहरुले प्रशिक्षण गर्ने अवसर पाउनु भएको थिएन । अब उहाँहरुले पनि प्रशिक्षणमा सहभागी हुन पाउनु हुन्छ’, उनी भन्छन् ।



पहिला व्यक्तिगत तवरले प्रशिक्षण गरेको भएता पनि अब आधिकारिक रुपमै प्रशिक्षण गर्न पाउनुले थप उत्साह थपिएको उनको भनाइ छ ।

‘अब राष्ट्रिय टिमको प्रशिक्षणमा फर्कन पाउने भयौं । यसले मलाइ निकै उत्साहित बनाएको छ’, उनले थपे ।

१३ औं सागमा करातेतर्फ स्वर्ण विजेता कुसुम खड्काले यो लकडाउन अवधि घरपरिवारसँगै बिताइन् । घरमानै सामान्य व्यायाम गर्नबाहेक उनले अन्य प्रशिक्षण गर्न पाइनन् । सरकारले प्रशिक्षणको अनुमति दिँदा निकै खुसी लागेको उनले बताइन् ।

‘सरकारले प्रशिक्षणको अनुमति त दिएको छ, तर क्लबले अनुमति नदिएसम्म हामी राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन पाउदैनौं’, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले गुनासो गर्दै भनिन् ।

लकडाउन भर्खरै खुलेकाले प्रशिक्षणका लागि क्लबले बोलाउन बाँकी रहेको हुनसक्नेमा उनी आशावादी छिन् ।

‘अहिलेसम्म बोलाएको छैन, हेरौं भोलि के हुन्छ’, उनी भन्छिन्, ‘लकडाउन भर्खर आजबाट खुलेको छ । अबको केही दिनमा क्लबले बोलाउला र प्रशिक्षणमा फर्किन पाइएला, मैले यही आशा राखेकी छु ।’

१३ औं सागमा दोहोरो स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्यलाई पनि सरकारको यो निर्णयले निकै उत्साहित बनाएको छ ।

उनले पनि लकडाउन अवधि परिवारसँगै विताइन । घरमै आफूले पनि सामान्य प्रशिक्षण गर्दै छोराहरुलाई पनि प्रशिक्षण गराइन् । आफ्ना लागि लकडाउन उपयोगी सावित भएको उनले सुनाइन् ।

‘लकडाउनका कारण घर–परिवारसँग राम्रौ समय बिताउन पाइयो । घरको काम र छोराहरुको अनलाइन क्लासमा सहयोग गर्दा तथा उनीहरुसँग खेल्दा दिन गएको पत्तै भएन’, उनी भन्छिन्, ‘मलाई त आफू अन्य दिनभन्दा लकडाउनको वेला बढी व्यस्त भएको जस्तो महशुस भयो ।’

 

लकडाउनको वेला आफूहरुले काठमाडौंका केही स्थानमा राहत बाढ्ने कामसमेत गरेको आयशाले बताइन् ।

आयशाले लकडाउको अर्को पाटो पनि उजागर गरिन् । लकडाउनले आफूमा घर–परिवारसँग दिन बिताउन पाउँदा खुसी लागेको भए पनि यसका अवगुणहरु समेत उनले केलाइन् ।

लकडाउनको अवधिका सामुहिक प्रशिक्षण गर्न नपाउँदा धेरै खल्लो लागेको अनुभव उनले सुनाइन् ।

घरमा एक्लै प्रशिक्षण गर्दा अल्छी लाग्ने रहेछ । साथै, प्रशिक्षक र साथीहरु नहुँदा आप्mना कमी–कमजोरीका बारेमा थाहा नहुने रहेछ’, आयशाले लकडाउनका वेला आफूले भोगेका कठिनाइ सुनाइन् ।

अब प्रशिक्षण गर्ने बाटो खुलेकाले त्यसले आफूलाई निकै उत्साह मिलेको आयशाले बताइन् ।

‘अब प्रशिक्षण गर्ने बाटो खुलेको छ । गुरु र साथीभाइसँग भेट हुन्छ । त्यसैले समुहमा प्रशिक्षण गर्दा निकै उत्साह आउँछ’, उनले भनिन्, ‘उहाँहरुले आप्mना कमजोरीका बारेमा बताइदिनु हुन्छ । यसले आफ्नो प्रदर्शनमा सुधार गर्ने मौका मिल्छ ।’

लकडाउन खुलेता पनि कारोनाको जोखिम अझै कम नभएकाले सावधानी अपनाउन आयशाको सबैलाई आग्रह छ ।   

  

 

  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १५:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया