काेराेनाले भूपिनलाई सिकाएका सात पाठ
फरकधार / २४ साउन, २०७७

विश्व कोरोनाभाइरस (कोभिड १९) कहरले आक्रान्त छ । चीनको वुहानमा पहिलोपटक गत वर्षको डिसेम्बरमा यो भाइरस मानिसमा देखिएको थियो ।

अहिले त विश्वका सबै देशमा कोरोनाभाइरस संक्रमित भेटिइसकेका छन् । नेपाल पनि कोरोनाको ठूलो भुमरीमा फसिसकेको छ ।

यही कोरोनाभाइरस महामारीबीच कवि भूपिनलाई अर्को समस्या आइपर्याे, उनका छोरा बिरामी भए । छोराको एपेन्डिसाइटिसको अपरेसन गर्नै पर्ने भयो । छोरालाई लिएर अस्पताल पुगे उनी ।

अनि पाँच दिन अस्पताल बसे, अस्पताल बसाइँकाे आतंकबीच छोराको हेरचाह गरे ।

कोरोना महामारी नहुँदो हो भने पनि एउटा बाबुका लागि बिरामी छोरा अस्पतालमा कुरेर बस्नु कम सकसपूर्ण हुने थिएन । झन्, कोरोनाभाइरस महामारीमा पाँच दिन अस्पताल बस्नु पर्दा यी कविले सहजै दिन बिताएनन् ।

आपत् त झन् थपियो जब उनी अस्पतालबाट छोरालाई डिस्चार्ज गरेर फर्किए ।

‘त्यसपछि कोरोनाभाइरस संक्रमण हुँदा देखिने भनिएका केही लक्षण ममा देखिन थाले,’ भूपिनले फोनमा सुनाए, ‘म अलिक आत्तिएँ ।’

विश्व महामारीको चपेटामा परिरहेको थियो, भूपिनले आफ्ना लक्षणबारे इन्टरनेटमा हेरिरहेका थिए । र, पाइरहेका थिए केही लक्षण कोरोनासँग मिल्दोजुल्दो ।

‘मलाई कोरोना संक्रमण भइसक्यो, अब धेरै बाँच्दिनँ कि क्या हो भन्ने शंका पनि लाग्यो । तर मैले प्रियजनहरूलाई यो कुरा बताइनँ । कोठामा एक्लै भएकाले सामना गर्छु भन्ने सोचेँ,’ उनी हाँसे, ‘तर, त्यस्तो कुनै जटिलता आइलागेन ! केही दिनमा तन्दुरुस्त भएँ ।’

त्यसपछि उनले थपे, ‘मलाई ठ्याक्कै कोरोनाभाइरस संक्रमण भयो या भएन त भन्न सक्दिनँ, शंकाको बाघले खाएको पनि हुनसक्छ । तर ममा कोरोनाका कतिपय लक्षणहरू देखिएका थिए । सास फेर्न अलिक कठिनजस्तो पनि महसुस गरिरहेको थिएँ । प्रधानमन्त्रीको बेसार कान्ड चलिरहँदा र सामाजिक संजालमा मेरो बेसार कविताको चर्चा भइरहँदा मैले बेसार पानी पिइरहेको थिएँ । कोडोपार खाइरहेको थिएँ ।'

०००

कोरोना महामारीबीच छोरालाई अस्पताल लैजानु पर्ने बाध्यता त आइपर्याे, भूपिनलाई । तर, त्यस अघिका कति बाध्यताहरुले उनलाई केही काम गर्नबाट वन्चित गरेका थिए । यसपटक कोरोना महामारीमा भूपिनले ती बाध्यतालाई पन्छाउन पाए, अनि पूरा गर्न पाए आफ्ना रहरहरु ।

‘लकडाउनमा घर (बाग्लुङ) जाऔँला भन्ने सोचेको थिएँ,’ भूपिनले भने, ‘तर, झ्यापझुप लकडाउन भइहाल्यो, घर जान पाइएन, चितवनमा नै लकडाउनका सबै दिन कटाएँ ।’

चितवनबाट बागलुङको यात्रा गर्न नपाए पनि भूपिनले चितवनमै रहेर ‘महाभारत’को यात्रा छिचोले ।

‘महाभारतका सबै सिडी किनेको थिएँ, ९४ वटै एपिसाेडका, निकै अगाडि,’ भूपिनले भने, ‘यसअघि लामो समयदेखि महाभारत हेर्न मन थियो, तर पाएको थिइनँ ।’

अनि यो लकडाउनमा भूपिनले हेरे, महाभारतका सबै एपिसोड । ‘सात दिनमा सबै हेरेँ,’ उनले भने, ‘लकडाउनमा मेरो एक महत्वपूर्ण उपलब्धि यो पनि रह्यो, ठूलो उपलब्धि ।’

युद्ध र लडाइँ, जीवन र सत्ता, परिवेश र जितलाई हेरेका भूपिनले त्यसपछि यही लकडाउनको अर्को पनि निर्णय गरे । त्यो हो, बुद्ध नामको सिरियल हेर्ने ।

‘बुद्ध जीवनीबारे बुझ्न त पहिले देखि नै मन थियो, तर अझ भित्र पुगेर यसबारे बुझ्न पाइरहेको थिइनँ,’ उनले भने, ‘५४ एपिसोडको यो सिरियल पनि लकडाउनमै हेरेँ, बुद्ध दर्शन र उनका दार्शनिक मार्गका पहेलीहरू अझ गहिराइमै पुगेर बुझन् पाएँ ।’

९४ र ५४ एपिसोडका यी दुई ‘सिरिज’ हेरेका भूपिनले लकडाउनमा केही किताब पढ्नु, केही कविता लेख्नु र घरमा समय बिताउनु त सामन्य नै भइहाल्यो ।

त्यसबाहेक पनि अरु केही कुरा छन् कि ?

छन् । भूपिनले यसबीचमा एउटा पाठ सिकेका छन् । र, त्यसलाई बुँदागत रुपमा टिपोट पनि गरेका छन् ।

उनले मनन गरेका सात बुँदा हुन्ः

१. कोरोना कहर पछि पनि वर्षमा कम्तिमा एक साता विश्वव्यापी लकडाउन गर्ने । यसो गर्दा प्रकृति सफा र स्वच्छ हुन्छ । लकडाउन भएपछि काठमाडौं चालिस वर्षकै यता सफा भयो भन्ने शिर्षकका समाचार हामी सबैले पढेकै होऔँला । यो त्यसकै उपज हो ।

२. मान्छेले आफ्नो अधिकार खोज्दै गर्दा उसले आफ्नो कर्तव्य बिर्सिनु हुँदैन । हामी अधिकार माग्ने कुरामा चाहिनेभन्दा ज्यादा सजग भयौं, तर कर्तव्य पालनाको कुरा सधैं चुकिरह्यौं । एक जनाको गरेको कर्तुत संसारलाई नै तहसनहस पार्न काफी हुन्छ । कर्तव्य पालनाका कुरामा विकसित देशहरु सबैभन्दा धेरै सचेत हुन जरुरी छ ।

३. खानपिनमा सुधार । खाने कुरामा हामी यति खन्चुवा भयौँ हामी जे पनि खाइदिन्छौँ । मरेको जनावरको मासुसमेत खाइदिन्छौँ । मान्छेले खाना संस्कृतिमा एकदमै ध्यान दिन आवश्यक छ । हाम्रो खाना संस्कृति जति राम्रो हुन्छ, हाम्रो स्वास्थ्य पनि त्यति नै राम्रो हुन्छ ।

४. शारीरिक व्यायाममा ध्यान दिनु पर्छ । इम्युन सिस्टम राम्रो भएपछि बाहिरी भाइरसले शरीरलाई आक्रमण गर्न सक्दैन, गरिहाले पनि त्यसविरुद्ध लड्न सकिन्छ ।

५. यो पृथ्वी हाम्रो मात्र होइन, भावी पुस्ताका लागि पनि हो । भावी पुस्ताका लागि यो पृथ्वी जोगाउनु पर्छ, जसका लागि त्याग अत्यावश्यक छन । त्याग र समर्पण विना संसार बन्दैन । सबै कुरा हामीले नै भोग्यौँ भने भावी पुस्ताका लागि केही पनि बेच्ने छैन ।

६. राज्यसत्ता सेवक हुनु पर्छ । सत्ता सेवक नभएकै कारण अहिले संसारका धेरै देशहरूका नागरिकले दुख पाए र पाइरहेका छन् । तसर्थ, सरकारले आफ्नो देशका जनताको स्वास्थ्य सुरक्षाका निम्ति प्रभावकारी ढंगले काम गर्नु पर्छ । नेपालमा पछिल्ला केही महिना राजनीतिमा सत्ता खिचातानीका जुन दृश्य–परिदृश्यहरु देखिरहेका छन् ती एकदमै दुःखद छन् । यस्तो बेलामा सत्ता झन् संवेदनशील हुनु पर्ने हो, तर सरकारको ध्यान सत्ता जोगाउन मात्रै सिमित छ ।

७. प्रकृति संरक्षणमा विशेष जोड दिनु पर्ने समय आइसकेको छ ।

भूपिन बुँदा नम्बर सातलाई अब हामी सबैले ध्यान दिनु पर्ने राय राख्छन् । कोभिड–१९ ले सिकाएको सबैभन्दा महत्वपुर्ण पाठ हो यो भूपिनका लागि ।

‘कोभिङ–१९ जुन अप्रत्याशित रुपमा देखियो, त्यसले हामीलाई राम्रोसँग महसुस गराइदिएको छ– सबैभन्दा महत्वपुर्ण कुरा त प्रकृति नै रहेछ,’ भूपिन प्रकृतिको महत्वबारे आफूले बुझेको धारणा राख्छन्, ‘प्रकृति रह्यो भने मात्रै हाम्रो अस्तित्व रहन्छ । हामी सबै प्रकृतिको आश्रयमा छौँ ।’

टेलिफोन कुराकानीमा फेरि कोरोनाभाइरसको प्रसंग जोडे भूपिनले ।

‘यो त प्रकृतिले हामीलाई दिएको श्राप हो,’ उनले भने, ‘अनि यो पूरै अवस्था हामी आफैंले निम्त्याएको हो, हामीले प्रकृतिमाथि गरेको ज्यादती र अन्यायको परिणाम हो ।’

अनि झट्ट रुसो सम्झिन्छन्, भूपिन ।

‘नेचर इज द डक्टर विथ योर प्रेस्क्रिप्सन,’ रुसोले भनेका छन् । ‘यो भनाई त अझ टड्कारो रुपमा चरितार्थ भएको छ,’ भूपिनले भने, ‘प्रकृति त हाम्रो डाक्टर रहेछ नि, तर हामी हाम्रै डाक्टरमाथि आक्रमण गरिरहेका छौँ ।’

यही प्रसंगमा कुराकानी गर्दै गर्दा भूपिनले जोडे १७ वर्षीया स्विडिस किशोरी ग्रेटा थर्नबर्गको प्रसंग । विश्वका चर्चित नेताहरु ट्रम्पदेखि पुटिनसम्मलाई बेलाबेला चुनौति दिँदै आएकी ग्रेटाले हाम्रै वातावरणको संरक्षणलाई मुख्य बुँदा बनाउन थालेको केही समय भइसकेको छ ।

‘अब त कोरोनाले ग्रेटाले उठाएको मुद्दा कति महत्वपूर्ण रहेछ र जायज रहेछ भन्ने हामीलाई पाठ सिकायो नि,’ भूपिनले भने ।

महाभारत र नेपाली राजनीति, विश्व राजनीति र खिचातानीबाट आजित भूपिनले अनेक विषयमा कलम चलाएका छन्, प्रकृति संरक्षणका लागि पनि आफ्नो आवाज उठाएका छन् । र, अब यी तमाम विषयमा भूपिनका कवितामा आउने छ, प्रकृति संरक्षणका लागि गरिने आह्वान पनि !

‘मैले त प्रण गरेको छु,’ भूपिनले भने, ‘अब अरु सारा विषय सँगसँगै प्रकृति संरक्षणको पक्षमा पहिलेभन्दा अझ शसक्त रुपमा कविता लेख्ने छु ।’ त्यसाे त पाेखरामा हुँदा भूपिन संरक्षण कविता आन्दाेलनमा पनि सरिक भएकै हुन् । ६० भन्दा बढी गाउँमा पर्यावरण सम्बन्धी कविता याे आन्दाेलनमा हुँदा लेखे भूपिनले ।

अनि अब झन् यसलाई सशक्त बनाएर अगाडि लैजाने विचारमा छन् भूपिन । त्यसको थालनी पनि गरिसकेका छन् उनले ।

त्यसको प्रमाण हो, पूर्ण हुन बाँकी ‘साँचो’ शीर्षकको उनको कविताको यो अंशः

अब कसरी निस्कने होला आँगन ?

कसरी हिँड्ने ती बाटाहरुमा ?

कसरी सच्चाउने होला भूलहरूलाई ?

वास्तवमा स्वर्ग जाने चाबी प्रकृतिको हातमा रहेछ ।​

  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार ९:६:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया