‘ओली ननसेन्स हुन्, मूर्ख्याइँको हद पार गरिसके’
प्रधानमन्त्री केपी शर्मा ओली ।

कम्युनिस्टहरुबीच एउटा भनाइ निकै प्रसिद्ध छ– धर्म अफिम हो ।

कार्ल मार्क्सको यो भनाइलाई अहिले पनि विश्वभर कम्युनिस्टहरुले आफ्नो अस्त्र बनाइरहेका हुन्छन् । 

नेपालमा पनि आफूलाई कम्युनिस्ट हुँ भन्नेहरुले यसलाई अंगिकार गर्न खोज्छन्, समयसमयमा यसलाई आफ्नो नारा बनाउँछन् । हो, कम्युनिस्टहरु धर्ममा विश्वास गर्दैनन्, धर्मलाई अजेन्डा बनाएर राजनीति गर्न खोज्दैनन् ।

तर, अपवाद देखिएका छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । 

‘पहिलो कुरा नेकपा कम्युनिस्ट पार्टी नै होइन,’ यसबारे वैज्ञानिक समाजवादी कम्युनिस्टका संयोजक तथा राजनीतिक विश्लेषक आहुति भन्छन्, ‘यो मैले होइन, उहाँले नै केहीअघि अन्नपूर्ण पोस्टमा दिनुभएको एक अन्तर्वार्तामा भन्नुभएको छ । अब कम्युनिस्ट नभएपछि जे बोल्दा पनि भयो । नेकपालाई त पत्रकारहरुले पो कम्युनिस्ट पार्टी बनाएका हुन् त ।’

प्रधानमन्त्री ओलीले देश कोरोनाभाइरस (कोभिड १९) को महामारीबीच गुज्रिरहँदा पछिल्लो समय जेमा समय व्यतित गरेका छन् र जेलाई प्राथमिकता दिएका छन्, त्यसले पनि यो विषयमा अहिलेको चर्चा सान्दर्भिक हुन आउँछ । 



गत असार २९ गते भानुजयन्तीको अवसरमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा उनले भगवान श्रीराम नेपालमा नै जन्मिएको र त्यो भूमि माडीको अयोध्यापुरी भएको दाबी गरे । माडी नगरपालिकाका जनप्रतिनिधि र अन्य केही विज्ञहरुसँग शनिबार प्रधानमन्त्री निवासमै भएको भेटघाटमा पनि ओलीले यो विषय फेरि दोहो¥याए । उनले यो विषयमा दोहोर्‍याएका मात्र होइनन्, अर्को दशैंसम्ममा अयोध्यापुरीमा भगवान रामको भव्य मूर्ति बनाउन पनि निर्देशन दिएका छन् ।

यतिमात्र होइन, उनले माडीको नाम फेरेर अयोध्यापुरी नै राख्न पनि सिफारिस गरेका छन् । 



यसअघि असार २९ मा प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति आएपछि उनको आलोचना नेकपामा नै भएको थियो । कतिसम्म भने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको अप्रत्यक्ष खण्डन परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर गर्यो । परराष्ट्रको त्यो विज्ञप्तिमा भगवान राम भारतको अयोध्यामा जन्मिएको सबैलाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिमाथि राजनीतिकरण नगर्न अनुरोध गरिएको थियो ।

तर, प्रधानमन्त्री ओली अझै पनि यसलाई आफ्ना प्रमुख अजेन्डामध्ये एक बनाइरहेका छन् ।

‘राम्रो काम केही छैन,’ आहुति भन्छन्, ‘अनि राम्रो काम नभएपछि मान्छेले यस्तै काम गर्छ, ओलीले पनि त्यही गरेका हुन् ।’

अर्का विश्लेषक प्राडा कृष्ण खनालले पनि यो विषयमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । ‘उनी पुराणको भूगोल खोजिरहेका छन्,’ खनालले फरकधारसँगको टेलिफोन सम्पर्कमा भने, ‘यो खासमा उनको मुख्र्याइँ मात्र होइन, ओली कति ननसेन्स रहेछन् भन्ने पनि यसले प्रमाणित गरेको छ ।’

पछिल्ला केही दिन यता नेपालमा कोरोनभाइरसका कारण हुने मृत्युमा उल्लेख्य वृद्धि हुन थालेको छ । कोरोनाभाइरस संक्रमितको संख्या पनि बढ्दै गएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला आफ्ना सम्बोधनमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणबारे बोलिरहेका छैनन्, उनी त भगवान रामको मन्दिर बनाउन लागिपरेका छन् । 

यसलाई उनी देश र जनताप्रति प्रतिबद्ध नहुनुको उदाहरण मान्छन्, आहुति । ‘उहाँ देश र जनताप्रति प्रतिबद्ध हुनुहुन्न भन्ने यसले प्रमाणित गरेको छ,’ आहुतिले भने, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न एकपछि अर्को लफडा झिकेर ओलीले खासमा जनताको ध्यान डाइभर्ट गर्न खोजिरहेको आभास गर्न सकिन्छ ।’

अनि यस्तै लफडाहरुमा ओली थप नागिंदै गएको निष्कर्ष निकालेका छन्, आहुतिले ।

‘उहाँले त भ्रष्टाचार हुनै दिन्नँ, भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्नुभएको थियो,’ उनले भने, ‘अहिले त सबैभन्दा बढी भ्रष्टाचार ओली शासनकालमै भएको छ ।’ अनि आहुतिले यती, ओम्नी काण्डको प्रसंग निकाले, ७० करोड कमिसनको विषय सम्झिए । अनि अलिक ठूलो आवाजमा भने, ‘उहाँले रेल र पानी जहाज ल्याएर समृद्धि ल्याउछु भन्ने कुराले त आलु नै खायो । उहाँ हरेक विषयमा असफल हुनुभयो ।’

‘ओलीले अहिले ननसेन्सको हद पार गरिसकेका छन् र उनले अहिले गरिरहेको कामलाई राजनीति भन्नै मिल्दैन,’ प्राध्यापक खनालले भने, ‘खासमा ओली किन यस्तो गर्छन् भन्ने बहस गर्नु पनि सान्दर्भिक छैन ।’ खनाल त अहिले ओलीका यस्ता कामलाई राजनीति भन्ने हो भने शब्दकोषमा नै राजनीतिको परिभाषा फेरिनु पर्ने तर्क गर्छन् ।

उता, आहुति अहिले धर्मको लफडामा ओली लाग्नुको कारण चाहिँ नेपाली जनतालाई भुलाउन ओलीले चालेको कदम मान्छन् ।

‘राजनीति गर्न कुनै न कुनै लफडा निकाल्नै पर्यो नि,’ उनी भन्छन्, ‘मान्छेहरुलाई कसरी झुलाउन सकिन्छ भन्ने कुरा ओलीलाई राम्रैसँग थाहा छ ।’ उनी राजनीति गर्नेसँग अरु कुनै विकल्प र योजना नहुँदा यस्तै लफडामा रमाउन चाहने भएकाले अहिले ओली पनि यस्तै ‘जोकरगिरी’मा रमाएको धारणा राख्छन् ।

  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १९:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया