ओली–प्रचण्ड भेटः तत्काललाई नेकपा विभाजन टर्ने सम्भावना बढ्यो
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो समयको विवाद अब विस्तारै समाधान तर्फ लाग्ने संकेत मिलेको छ । बिहीबार दिउँसो नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको चार घन्टा लामो भेटघाटपछि नेकपाका नेताहरुले नै यस्तो दाबी गर्न थालेका हुन्  ।

आज दिउँसो भएको दुई अध्यक्षको भेटमा अरु केही नेताहरु पनि सहभागी थिए । यो भेलामा भएका नेताहरुले पनि अहिले आजको वार्ता सकारात्मक रहेको मात्र बताएका छन् । तर, दुई अध्यक्षबीच के विषयमा छलफल भयो भन्नेबारे उनीहरुले बताएका छैनन् ।

तर, प्रचण्ड पक्ष नेताहरु र ओली पक्ष नेताहरुले आजको भेटलाई निकै सकारात्मक भन्दै यसले अहिलेको विवादलाई समाधानमा लैजाने दाबी गरेका छन् । पछिल्ला ९ दिन यता यी दुई अध्यक्षबीच टेलिफोनमा कुराकानीसमेत हुन सकेको थिएन ।

तर, दुवै नेताले आआफ्ना सन्देश एकअर्कालाई आफूनिकट नेताहरुबाट पठाएका थिए । जस्तो कि, बुधबार मात्र ओली पक्षको सन्देश लिएर प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेल प्रचण्ड निवास पुगेका थिए ।

यो भेटघाटमा पोखरेलले अब महाधिवेशनको तयारी सुरु गर्न ओली पक्ष तयार रहेको प्रचण्डलाई बताएको प्रचण्ड सचिवालयका एक सदस्यले फरकधारलाई बताएका छन् । तर, यो प्रस्तावमा प्रचण्ड पक्षले कुनै जवाफ दिएको छैन । 

 



छलफलमा प्रचण्ड–नेपाल

बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग चार घन्टा लामो छलफलपछि प्रचण्ड निवास फर्किए । लगत्तै उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग सम्पर्क गरे । 



दिउँसो अर्का अध्यक्ष ओलीसँग भएको वार्ताबारे नेकपाका अध्यक्ष प्रचण्डले नेपाल र खनाललाई ब्रिफ गरेको एक नेताले फरकधारलाई जानकारी दिएका छन् ।

प्रचण्ड–नेपाल पक्षका नेताहरु भेटघाट गरेर प्रधानमन्त्री ओली पक्षधरले राखेका विषयमा छलफल पनि गरेका छन् । अध्यक्ष प्रचण्डले आज आएका ओलीका प्रस्तावले ओलीलाई ‘डाउनसाइज’ गर्न सकिने निष्कर्ष अन्य नेताहरुलाई सुनाएका छन् ।

 

महाधिवेशनकै प्रस्तावमा जोड

आज भएको भेटघाटमा प्रधानमन्त्री ओली र प्रचण्डबीच अब नेकपाको महाधिवेशन छिट्टै गर्नेमा जोड रहेको बताइएको छ । ‘प्रधानमन्त्री ओलीले महाधिवेशन गर्नका लागि आवश्यक समिति बनाउनेसम्म प्रस्ताव राख्नु भएको छ,’ प्रचण्ड निकट एक नेताले फरकधारलाई बताए, ‘उहाँहरु अब महाधिवेशन गरेर अगाडि बढ्ने र यसका लागि समन्वय समिति बनाइहाल्ने प्रस्तावसहित अगाडि आउनु भएको छ ।’

तर, प्रचण्ड र नेपाल पक्षले चाहिँ अहिले तत्काल यो प्रस्तावलाई स्वीकार गर्ने वा नगर्ने निर्णय गर्न सकेको छैन ।

 

मन्त्री र प्रदेश सरकार हेरफेर गर्ने ओली प्रस्ताव

आज भएको छलफलमा ओलीले प्रचण्ड–नेपाल पक्षलाई आफ्नो राजीनामा नमाग्न आग्रह गरेका छन् । उनले अहिले आफूले राजीनामा दिन नमिल्ने भन्दै पार्टीमा विवाद मिलाउन बरु केही केन्द्रीय मन्त्रीहरु हेरफेर गर्न आफू तयार रहेको बताएका छन् । 

‘पार्टी समीकरणमा ध्यान दिन केही मन्त्रीहरु हेरफेर गर्न सकिन्छ भन्ने छलफल भएको छ,’ प्रचण्डनिकट ती नेताले भने, ‘अहिले विवाद तत्काल अन्त्य गर्नका लागि ओली पक्षले प्रदेशका केही सरकारका नेतृत्व पनि फेर्न तयार रहेको संकेत गरेको छ ।’

 

नेकपा विभाजनको सम्भावना टर्‍यो

आज भएको छलफल सकारात्मक भएकाले अहिले तत्कालका लागि नेकपामा हुनसक्ने भनिएको विभाजन टरेको पनि केही नेताले बताएका छन् । ओली पक्षका एक नेताका अनुसार पछिल्लो समयको विवाद अन्त्य गर्न र पार्टी एकता बलियो बनाउन ओलीले ‘कम्प्रोमाइज’ गरेका छन् । 

‘फेरि पार्टी विभाजनको खतरा बढेको र यसलाई रोक्न पर्ने भन्ने जुन आवाज अन्य नेताहरुमा पनि देखिएको छ,’ उनले भने, ‘अहिले भएको यो विवाद अन्त्य गर्न सबै पक्षको जोडबल रहेको छ, यसले पनि तत्काल विभाजन टर्ने सम्भावना बढाएको छ ।’

  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार २१:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया