नेपालमा कोरोनाभाइरसः सबैभन्दा बढी प्रभावित जिल्ला कुनकुन ?

गत वर्ष चीनको वुहानमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले नेपाल पनि पूरै प्रभावित भएको छ । सरकारले कोरोनाभाइरस रोकथामका लागि झन्डै चार महिना लकडाउन लगाएको थियो । 

तर, जसै लकडाउन खुकुलो भयो, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो ।

अब त नेपालमा ३४ हजार ४ सयभन्दा धेरै संक्रमित थपिइसकेका छन् । अनि कोरोनाका कारण १ सय ६० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

योबीचमा नेपालका कुन जिल्लामा सबैभन्दा बढी संक्रमित रहेका छन् र कुन जिल्लामा कति संक्रमितले ज्यान गुमाए भन्नेबारे सबैभन्दा बढी प्रभावित १० जिल्लाको यो तथ्यांक हेरौँ । 

नेपालमा पछिल्लो समय संक्रमित संख्याको आधारमा काठमाडौंमा सबैभन्दा बढी संक्रमित रहेका छन् । बिहीबार विहानसम्मको तथ्यांकअनुसार काठमाडौंमा २ हजार ९ सय ५५ जना संक्रमित रहेका छन् । अनि अहिलेसम्म काठमाडौंमा १६ जनाले कोभिड १९ का कारण ज्यान गुमाइसकेका छन् । काठमाडौंमा कोरोना ठिक हुनेहरुको संख्या १ सय १० छ । 

काठमाडौंपछि सबैभन्दा बढी प्रभावित भएको छ, प्रदेश २ को जिल्ला पर्सा । पर्सामा २ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् । त्यहाँ ३१ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । पर्सामा १ सय ७६ जनाले कोरोनाभाइरसलाई जित्न सकेका छन् ।



संक्रमित संख्याको आधारमा सबैभन्दा बढी प्रभावित जिल्लाको तेस्रो सूचीमा आउँछ रौतहट । रौतहटमा १ हजार ७ सय ९४ जनामा कोरोना पुष्टि भएको छ । त्यहाँ ३ जनाले ज्यान गुमाएका छन् । नेपालमा सबैभन्दा धेरैले कोरोना जितेको जिल्लामा रौतहट दोस्रो नम्बरमा पर्छ । रौतहटमा अहिलेसम्म ७ सय ५० जनाले कोभिड १९ जितेका छन् । 

सबैभन्दा धेरै कोरोनाभाइरस निको भएको जिल्ला चाहिँ दैलेख हो । संक्रमित संख्याको सूचीमा नवौं नम्बरमा पर्ने दैलेखमा १ हजार १२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । १ जनाले ज्यान गुमाएको दैलेखमा ८ सय ५ जनाले कोरोनाभाइरस जितेका छन् । 



सबैभन्दा धेरै संक्रमित भएको जिल्लाको चौथो नम्बरमा चाहिँ कैलाली पर्छ । कैलालीमा १ हजार ५ सय ९४ जना संक्रमित भएका छन् भने ५ सय ३० जनाले कोरोना संक्रमण जितेका छन् । त्यहाँ अहिलेसम्म ४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, सर्लाहीमा अहिलेसम्म १ हजार ४ सय ७५ जना कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ ४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । सर्लाहीपछि मोरङ, धनुषा, महोत्तरी, कपिलवस्तुमा पनि एक हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये मोरङमा १३ जना र धनुषामा १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

नेपालमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको जिल्लाको दशौं नम्बरमा पर्छ, डोटी । डोटीमा ९ सय १७ जना कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ अहिलेसम्म कसैले पनि कोभिड १९ का कारण ज्यान गुमाएका छैनन् । डोटीमा ५ सय ३७ जनाले कोरोना जितेका छन् ।

  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार ११:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया