नेकपाको ‘सेन्टर’मा प्रचण्ड !

राजनीतिमा ‘पावर’ र ‘पोजिसन’को कति महत्व हुन्छ भन्ने कुरा अहिले सबैभन्दा बढी कसैले बुझेको छ भने नेकपाका कार्यकर्ता र नेताले बुझेका छन् । 

झन्, पछिल्लो समय विवादको केन्द्रमा घेरिँदै गएको र आफूभित्रको शक्ति संघर्षका कारण रुमल्लिँदै गएको नेपाल कम्युनिस्ट पार्टीमा त पोजिसन र पावरको चर्चा निकै बढ्ने गरेको पाइन्छ । 

त्यसैले होला, यसअघि असारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा सबैभन्दा पहिले चर्चा भएको थियो, नेताहरु बस्ने स्थानको । त्यति बेला केही सिमित नेताहरुलाई बैठक हुने स्थानको अग्रस्थानमा कुर्सीमा बसेका थिए । बैठकमा नै यसको विरोध भएपछि नेताहरुको कुर्सी पनि तल सारिएको थियो । 

नेकपामा नेताहरुको कुर्सी तल सारेको यो प्रसंग मात्र होइन, नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुर्सी एउटै बनाइएको पनि निकै ठूलो चर्चा चल्दै आएको छ ।

हुन त जनताका लागि राजनीति गर्नेहरुका लागि यो ठूलो कुरा नहुनु पर्ने हो । तर, नेकपामा यस्तो देखिँदैन । नेकपामा त बेला बेला बस्ने कुर्सीले पनि ठूलो हंगामा मच्चाइरहेको हुन्छ । 

अब डेढ महिनाभन्दा बढी रोकिएको नेकपाको स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा सुरु भयो । यो बैठकमा फेरि अर्को एउटा विशेष ‘पोजिसन’ देखियो । त्यो पोजिसन हो– प्रचण्डको कुर्सी !



शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्डको कुर्सी अगाडि बसेका पाँच नेताहरुको बीचमा राखियो । उनको दायाँतिर प्रधानमन्त्री ओली र नेकपा वरिष्ठ नेता झलनाथ खनाल बसेका थिए भने बायाँतिर नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष झलनाथ वामदेव गौतम । 

अब बीचमा प्रचण्डलाई राखेर नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति अपनाएको हुनसक्ने चर्चा पनि नेकपाका केन्द्रीय सदस्यहरुले गर्न थालेका छन् । 



लामो समय नेकपाका यी दुई अध्यक्षबीच विभिन्न विषयमा मतभेद भयो । यस्तो मतभेदमा प्रचण्डलाई नेकपाका दुई नेता माधवकुमार नेपाल र झलनाथ खनालले पूर्ण साथ दिए । वामदेव गौतमले भने पछिल्लो समयमा आएर आफूलाई ओली पक्षमा बढी लचक भएको प्रष्ट सन्देश दिन सफल भए ।

के अब प्रचण्ड सेन्टरमा आएपछि नेकपाको यो विवाद समाधान हुने होला त ? त्यसका लागि त केही समय कुर्नैपर्छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १३:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया