अमेरिकामा डढेलोका कारण २७ जनाको मृत्यु

अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्नियाको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिने भएका छन् ।

क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् । 

ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कुल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्नि नियन्त्रकलाई खसालेको छ । 

क्यालिफोर्नियामा करिब चार महिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाव देखिएको छ । 

डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दै गर्दा तातो सडकले टायर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । 



उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेको अरेगोनका गभर्नर केट ब्राउनले बताए । उनका अनुसार दशौं हजारले वासस्थान छोड्न बाध्य भएका छन् । 

राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यु फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका छन् । अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनाश गरेको बताएका छन् ।



ब्राउनले डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई सुरक्षित स्थलमा सारिएको बताए । अझै करिब पाँचलाख व्यक्तिहरू डढेलोका कारण असुरक्षित रहेका छन् । उनीहरूलाई तयारी गरिएको पनि उनको दाबी छ ।

मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको  बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ ।  

  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १५:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया