संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई पार्टीको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरूमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सरकारसँग त्यस्तो आग्रह गरेको हो । 

बैठकबारे जानकारी दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको जानकारी दिए । तर, कुन पदमा कसलाई कहाँ पठाउने भन्ने बारेमा भने बैठकमा कुनै छलफल नभएको उनले बताए । नेकपाको यस्तो निर्णयसँगै संवैधानिक निकायमा खाली रहेका करिब ४० पदमा नियुक्ति प्रक्रिया अघि बढ्ने बताइएको छ । 

यसअघि प्रधानमन्त्री र विपक्षी दलका नेताबीच संवैधानिक परिषद्को बैठक राखेर संवैधानिक निकायमा पदपूर्ति गर्ने सहमति भएको थियो । तर, नेकपाको आन्तरिक विवाद र विपक्षीले समेत भाग खोजेपछि संवैधानिक निकायमा पदपूर्ति ढिलाइ भएको हो । ‘विभिन्न संवैधानिक निकायको पदपूर्तिको बारेमा संवैधानिक परिषद्को बैठक छिटो बसेर आवश्यक निर्णय लिन पहल गर्नुहुन अनुरोध गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने । नेकपाले संवैधानिक र कानुनी मापदण्डअनुसार नियुक्ति गर्न सुझाव दिएको उनले बताए । 
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर सोमवार पनि अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । तर, मंगलबारको बैठकमा त्यसबारे कुनै छलफल भएन । सचिवालय बैठकले नेकपाको एकता प्रक्रियालाई पूरा गर्ने गरी १० दिनभित्र खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी दिएको छ । 

अध्यक्षद्वयले खाका बनाएर सचिवालय बैठक पेश गर्ने र थप छलफल भएपछि पार्टी एकतालाई पूरा गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । केही दिनमा बस्ने सचिवालयको अर्को बैठकमा विविध विषयमा छलफल हुने नेकपाले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १६:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया