त्रिविका रोकिएका परीक्षा छठपछि
फरकधार / ७ असोज, २०७७

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । 

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मंगलबार सम्पन्न बैठकले रोकिएका परीक्षा छठ लगत्तै सञ्चालनको तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठ लगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठ लगत्तै गर्ने गरी दशैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्न सक्ने जनाएको छ ।

त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्नेछ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिनेछन् । त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्न तयार रहन सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।

यसैगरी त्रिविले सेमेष्टरको भर्चुअल परीक्षा गर्नेबारे छलफल गरे पनि अब नगर्ने भएको छ । परीक्षा नियन्त्रक जोशीले केही डिन कार्यालयले सेमेष्टर प्रणाली परीक्षा भर्चुअल गर्ने भने पनि अब विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा गर्ने भएको जानकारी दिए । 

कोभिड–१९ का कारणले केही विश्वविद्यालयले खुला किताब (ओपन बुक) गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् ।

रजिष्ट्रार प्राडा दाहालले माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन÷चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । कोभिड–१९ का कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ ।
 

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १६:३:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया