तातोपानी नाका खोल्न चीन सकारात्मक
फरकधार / ८ असोज, २०७७

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् । राजदूत र वाणिज्य दूतबीचको वार्तापछि चीन केही साताभित्रै तातोपानी नाका सञ्चालनमा ल्याउन तयार भएको उनको भनाइ छ । 

विगत २० दिनदेखि बन्द भएको रसुवागढी नाका खुलेलगत्तै चीनले नाका खोल्ने संकेत गरेको हो । कामदारमा कोरोना देखिएपछि रसुवागढी नाका बन्द गरिएको थियो । 

सिन्धुपाल्चोकको जम्बु बजारमा २५ असारमा पहिरो गएपछि नाका पूर्ण रुपमा बन्द छ। चीनले सीमा नाकासम्म गएर सामान ल्याउने २९ नेपाली कर्मचारीको पिसिआर परीक्षण गर्ने जानकारी दिएसँगै नाका खोल्न लागेको आकलन गरिएको हो । 

चीनले बिहीबार नेपाली कामदार र ट्रक ड्राइभरको पिसिआर परीक्षण गर्ने जानकारी दिए पनि पानी परेका कारण रोकिएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । 

चिनियाँ पक्षले ती कर्मचारीको पिसिआर परीक्षण शुक्रबार गर्ने तयारी गरेको छ । पिसिआर परीक्षणमा कामदारमा कोभिड–१९ देखिएको खण्डमा भने नाका खोल्ने काम  केही साताका लागि पर सर्ने बताइएको छ । 

चीनमा कोरोना देखिएपछि गत १३ माघदेखि सो नाका बन्द भएको थियो । साढे दुई महिनापछि २६ चैतमा खुलेको थियो । नाका खोल्नुअघि चीनले नेपाली कामदारको पिसिआर परीक्षण गरेको थियो ।

  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १८:२०:३०,   अन्तिम अपडेट : असोज ८, २०७७ बिहीबार १८:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया