पर्यटकका लागि  खुल्यो घलेगाउँ

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लकडाउनपछि पर्यटक प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँको होमस्टे सञ्चालन भएको छ ।

क्व्होलासोँथर गाउँपालिक–३ मा पर्ने घलेगाउँ आन्तरिक पर्यटकका लागि खुला गरिएको हो । लकडाउनका कारण सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटन व्यवसायीले पर्यटकलाई प्रवेश खुला गरेको जनाएको छ ।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष एवं क्व्होलासोँथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार घलेगाउँमा यसै साताबाट पर्यटकका लागि खुला गरिएको छ । 

गाउँमा पर्यटक आउन थालेका छन् । जिल्ला भित्रका र अन्य जिल्लाका पर्यटक पनि आउन थालेको अध्यक्ष घलेले बताए । लकडाउनसँगै घरवास व्यवसाय सङ्कटमा परेकाले पर्यटन व्यवसाय खुला गर्ने निर्णय भएको उनले बताए ।

घलेगाउँ आउने पर्यटक तथा स्थानीयले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । थर्मल गनमार्फत ज्वरो परीक्षण गरेर मात्र प्रवेश गराइने उनले जानकारी दिए ।
पर्यटक सम्पर्क कार्यालय अगाडि साबुन पानीले हात धुने व्यवस्था गरिएको छ ।

होमस्टे सञ्चालन भएका घरमा पनि साबुनपानीले हातधुने व्यवस्था, स्यानिटाइजरको व्यवस्था गरिने उनले बताए । पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गराइन्छ । 



घलेगाउँमा पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ३४ घरमा सञ्चालन गरिएको छ ।

घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेशलगायत दर्जन हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । घलेगाउँ आउने पाहुनालाई गुरुङ संस्कृति घाटु, सोरठी, कृष्णचरित्र लगायत पौराणिक नृत्य देखाउने गरिन्छ ।



पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ । गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । 

नेपाली, गुरुङ फिल्म तथा म्युजिक भिडियोका लागि घलेगाउँ रोजाइमा परेको छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दूरीमा पर्छ ।

  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १६:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया